बनेपामा चण्डेश्वरी जात्रा शुरू

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८२ बैशाख २८, आईतबार (१ दिन अघि)
  • ९४ पटक पढिएको
बनेपामा चण्डेश्वरी जात्रा शुरू

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बनेपामा चण्डेश्वरी जात्रा आजबाट शुरु भएको छ ।
करिब दुई हजार पाँच सय वर्षदेखि मनाइँदै आएको यस चण्डेश्वरी जात्रा विशेषगरी नेवार समुदायले मनाउने गर्दछ ।
वैशाख शुक्ल पूर्णिमालाई चण्डीपूर्णिमा पनि भनिने गरिन्छ । तीन दिनसम्म मानिने यस जात्रामा यहाँका स्थानीयहरूमा नयाँ उमङ्ग र उत्सव देखिन्छ ।


जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् र पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजा गर्ने गरिन्छ ।
पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ भने तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिन्छ ।
धिमे, नाय् खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ ।
बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बाजागाजासहित स्थानीय युवाहरुले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ ।
यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पुर्‍याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।
दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिएको ठाउँमा रथ पुर्‍याई पूजाआजा र बलि दिने परम्परा रहेको छ ।
खटलाई प्राचीन लायकू दरबारसम्म पुर्‍याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिने गर्छ ।
जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ ।
किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पङ्क्षीको रुपधारण गरी उक्त वनबाट अलप भए ।
चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन्। त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुशियालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस