काभ्रे । सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सहकार्यमा आगामी जनवरी २२ र २३ मा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट प्रदर्शनी (इपेक्स) २०२५, काठमाडौँ विश्वविद्यालयको धुलिखेल क्याम्पसमा सम्पन्न हुने भएको छ ।
प्रेस विज्ञपितमा उल्लेख गरिएअनुसार यस वर्षको इपेक्सले “इंगेज, एलिभेट र एक्जिक्युट” थिममा केन्द्रित भएर सहभागिता, प्रविधि नवप्रवर्तन, र सिर्जनात्मक विचारलाई कार्यान्वयन गर्ने उद्देश्य लिएको छ । यस वर्षको इपेक्स मा ४० भन्दा बढी प्रोजेक्ट स्टलहरू प्रदर्शन हुनेछन्, जसमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, सूचना तथा सञ्चार प्रविधि (आईसीटी), ऊर्जा र पावर क्षेत्रमा विद्यार्थीहरुले गरेको नवीनतम सोचहरु प्रस्तुत गरिनेछ । प्रोजेक्ट प्रदर्शनी प्रतियोगिता यस कार्यक्रमको प्रमुख आकर्षण हुनेछ, जसमा नेपालभरका इन्जिनियरिङ विद्यार्थीहरूले स्मार्ट अटोमेशन सिस्टमहरू देखि दिगो ऊर्जा समाधान सम्मका नवीन परियोजनाहरू प्रस्तुत गर्नेछन्। हार्डवेयर ह्याक्याथन, इपेक्सको प्रमुख कार्यक्रम हो जुन जनवरी १९ र २० तारिखमा विश्वविद्यालय परिसरमा आयोजना हुनेछ। यस प्रतियोगीतामा सहभागीहरूले वास्तविक जीवनका समस्याहरूको समाधान खोज्ने प्रयास गर्नेछन् ।
त्यसैगरी रोबोटिक्स प्रतिस्पर्धाहरु हुनेछ, जसमा लाइन फलोइङ रोबोट च्यालेन्ज, रोबो सकर, आक्वा सुमो, र रोबो सुमो जस्ता प्रतियोगिताहरू समावेश गरिनेछन् । यी प्रतिस्पर्धाहरूले सहभागीहरूको प्राविधिक सीप र समस्या समाधान क्षमतालाई प्रदर्शन गर्नेछन् भने गेमिङप्रेमीहरूको लागि Valorant, FIFA, र Clash Royale जस्ता eSports प्रतियोगिताहरू तथा Watt’s the Clue नामक रोमाञ्चक ट्रेजर हन्ट प्रतियोगिता पनि समावेश गरिएको प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।
कार्यक्रमको अर्को मुख्य आकर्षण टक्स शो हुनेछ, जसमा प्राविधिक क्षेत्रमा नेतृत्व, इन्जिनियरिङ् र प्रविधिको भविष्यबारे छलफल गर्न नेपालका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता हुनेछ । यो प्यानलमा इन्जिनियर बिकाश गुरुङ, रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रवल भट्टराई, प्रोजेक्ट म्यानेजर, K&A Engineering Consulting PC मिनु प्रधान, पूर्व CTO र नेपाल टेलिकमकी निर्देशक डा. बसन्त गौतम, पुल्चोक क्याम्पस, इन्जिनियरिङ् अध्ययन संस्थानका सह–प्राध्यापक समावेश हुनेछन् ।
इपेक्स २०२५ ले विश्वविद्यालयको सांस्कृतिक र सामुदायिक भावना पनि उजागर गर्नेछ, जसमा अनलाइन संगीत प्रतियोगिता, चेस प्रतियोगिता, र बहुप्रतीक्षित एकोस्टिक नाइट जस्ता गतिविधिहरू समावेश गरिनेछन् ।
इपेक्सले प्रि–ईभेन्टको रुपमा सर्किट डिजाइनिङ प्रतियोगिता, SheLeads: Inspiring Engineering Minds, मोडेल कार र लाइन फलोइङ रोबोटको प्रशिक्षण, र एआई सेसन जस्ता विभिन्न प्रभावकारी प्रि–ईभेन्टहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यी कार्यक्रमहरूले सहभागीहरूलाई सीप र ज्ञान प्रदान गर्दै इपेक्स २०२५ को तयारीलाई बलियो बनाएको छ ।
विविध गतिविधिहरूको साथ, इपेक्स २०२५ ले प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने काठमाडौँ विश्वविद्यालयको प्रतिबद्धतालाई झल्काउँछ । यस वर्षको इपेक्स नेपालका इन्जिनियरिङ् क्षेत्रका लागि एउटा महत्वपूर्ण माइलस्टोन बन्नेछ, जहाँ विद्यार्थी, व्यवसायी र प्रविधिप्रेमीहरू एकजुट भएर प्राविधिक सृजनशीलताको उत्सव मनाउनेछन्। थप जानकारीका लागि, seee.ku.edu.np/eepex मा हेर्न सकिने काठमाडौं विश्वविद्यालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।