व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिएका छौंः निर्देशक वैद्य

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ बैशाख २६, शुक्रबार (१ दिन अघि)
  • ९६ पटक पढिएको
व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिएका छौंः निर्देशक वैद्य

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले नवआगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ ।
“शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि” भन्ने मूल नाराका साथ अगाडी बढेको प्रतिष्ठानले कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
प्रतिष्ठानका सञ्चालक सदस्य एवं प्रबन्ध निर्देशक प्रताप वैद्यको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुको शैक्षिक यात्रा प्रारम्भसँगै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको समुचित सन्तुलनलाई प्राथमिकता दिइएको बताउँदै विद्यार्थीहरुमा आत्मविश्वास, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापप्रतिको रुचिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताए ।

वैद्यले विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै शैक्षिक गुणस्तरका साथै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको प्रयोगात्मक पक्षलाई समेत विशेष जोड दिँदै विद्यार्थीलाई समग्र व्यक्तित्व विकासको दिशामा अघि बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राखे । शिक्षा केवल किताबी ज्ञानमा सीमित नहुने, बरु सामाजिक, सांस्कृतिक र नेतृत्वदायी क्षमताको विकासमा पनि समान रूपमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सहायक प्रधानाध्यापक, विद्यालय संयोजकहरू, विद्यालय प्रशासन, शिक्षक शिक्षिका तथा अभिभावकहरुको उपस्थित रहेको थियो । कार्यक्रमको औपचारिक प्रारम्भमा नवआगन्तुक विद्यार्थीहरुलाई टिका र खादा अर्पण गरी परम्परागत सम्मानसहित स्वागत गरिएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण विभिन्न चरणहरूमा प्रस्तुत गरिएको सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुति थियो । विद्यार्थीहरुले नेपाली लोक नृत्य, कविता वाचन, गायन तथा अभिनयजस्ता प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यस्ता प्रस्तुतिहरूले उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय जीवनप्रतिको आत्मीयता र प्रेरणा समेत जागृत गरेको उपस्थित अभिभावकहरूले बताए ।

विद्यालय संयोजकका अनुसार विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा प्रतिस्पर्धात्मक रूपमा सक्षम बन्न प्रेरित गरे । उनले सामाजिक उत्तरदायित्व, सहकार्य र नेतृत्व क्षमताको विकासमार्फत विद्यार्थीले भविष्यमा समाजको नेतृत्व गर्नसक्ने विश्वास व्यक्त गर्दै विद्यालयस्तरमै विद्यार्थीहरुको आन्तरिक प्रतिभा पहिचान गरी त्यसको प्रस्फुटन गर्न यस्ता कार्यक्रमहरू निकै प्रभावकारी देखिएका छन् । विद्यार्थीहरूमा नेतृत्व गुणको विकास गर्नु हाम्रो शैक्षिक उद्देश्यको अभिन्न हिस्सा रहेको विद्यालय संयोजकले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस