काभ्रे । महिलाको मध्यआयु र त्यसपछिको स्वास्थ्य अवस्थालाई लक्षित गरी काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले मेनोपज (रजनोवृत्ति) क्लिनिक सञ्चालन गरेको छ ।
अस्पतालले युएनएफपिएसँगको सहकार्यमा मेनोपज क्लिनिकको औपचारिक सुरुवात गरेको हो । यस क्लिनिकले महिलालाई आवश्यक परामर्श, परीक्षण तथा समुचित स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालले एक कार्यक्रमका बिच उक्त क्लिनिकको समुद्घाटन गरेको छ ।
मेनोपज क्लिनिकको आवश्यकता र यसको दीर्घकालीन प्रभावबारे अस्पतालका प्रा.डा सुमन राज ताम्राकारले चर्चा गर्दै मेनोपज अर्थात रजनोवृत्ति वा महिनावारी सुक्नेबेला भएको भनेर एउटै अवस्थालाई बुझिने बताए । ‘रजनोवृत्ति महिलाको जीवनको एउटा चरण हो जहाँ नियमित भइरहेको महिनावारी सधैंका लागि बन्द हुन्छ,’ प्रा.डा. ताम्राकारले थपे । यो एउटा निश्चित उमेरमा प्रजनन शक्तिको अन्त्य हुने सामान्य प्रक्रिया हो । खास गरी रजनोवृत्ति ४५ बर्षबाट शुरु भएर ५५ वर्षमा अन्त्य हुने गर्छ भने कुनै–कुनै महिलामा यो ४० वर्षमा शुरु भएको पनि हुने प्रा.डा. ताम्राकारले जानकारी दिए ।
धुलिखेल अस्पताल र युनएनएफपिएबिच सहकार्यबारे प्रा. डा. आभा श्रेष्ठले बताउँदै नेपालमा मेनोपजको अवस्थालाई अझ बढी गम्भीरताका साथ लिनुपर्ने आवश्यकता रहेको बताइन् । उनका अनुसार, यस क्लिनिकमार्फत महिलाहरूले आफ्नो स्वास्थ्यबारे समयमै सचेत हुनेछन् ।
कार्यक्रममा मेनोपज क्लिनिकसम्बन्धी छोटो भिडियो पनि प्रस्तुत गरिएको थियो, जसमा क्लिनिकका सेवा, उद्देश्य र प्रभावबारे जानकारी दिइएको थियो ।
युनएफपिएकी नेपालस्थित कन्ट्री प्रतिनिधि योङ हंगले धुलिखेल अस्पतालसँगको सहकार्यलाई उच्च मूल्यांकन गर्दै साथ सहयोगको प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै, अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकजुले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा यस्तो पहलले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।