|फोटोः अनिल शाक्य
प्रत्येक वर्षको बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा पाटनमा आजबाट सुरु भएको छ ।
पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मानिने यो जात्रा पाटनको पुल्चोकबाट सुरु हुँदै मंगलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी, जावलाखेल पु¥याएपछि जात्राको अन्तिम दिन मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो देखाइन्छ । जसलाई ‘भोटो जात्रा’ पनि भन्ने गरिन्छ ।
तत्कालिन राजतन्त्र कालमा भोटो देखाउने जात्रामा राजा आएर यो भोटो हेर्थे भने गणतन्त्र स्थापना पश्चात् राष्ट्रपतिले हेर्छन् । कार्यकारी राष्ट्रप्रमुख रहँदा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले २०६५ को भोटो हेरेका थिए । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुंगमतीको मच्छिन्द्र बहालमा पु¥याई विराजमान गराइन्छ । करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा हुँदै आइरहेको बताइन्छ ।
सुरुवात
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोककथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी ग¥यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।
रथयात्राको परम्परा
मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ । नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ । विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्ती पश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुंगमतीमा लगेर राखिन्छ । यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरूआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ । यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बुंगमतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । पाटनबाट दक्षिणायण उक्त ठाउँ बुंगमती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बुंगमतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ । तर जयदेव द्वितीयको संवत्, १५७ को पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वणिर्त छ । जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजिक देखिन्छ । सम्भवतः वि.सं. १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६÷६ महिना पाटन र बुंगमतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ । रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाण स्वरूप मार्गशीर्ष योमह्रिः पुन्ही र पाटनको म·लबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुंगद्यबाट बुझ्न सकिन्छ । मत्स्येन्द्रनाथ बुंगमतीबाट पाटनमा ल्याइँदा चौधौँ शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल)को मन्दिरमा राखिन्छ र पाटनबाट बुंगमती लैजाँदा सहरबाट अलि पर रहेको ज·लमा अवस्थित चौधौँ शताब्दी तिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ । नेपालमा रातो मत्स्येन्द्रनाथ बाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन् ।
फोटोः अनिल शाक्य
त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन् । त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन् । पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन् । नालाको करुणामयको रथयात्रा ४÷५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथयनत्रा गराइँदैन । अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ । बाह्र वर्षे मत्स्येन्द्रनाथ जात्राको समयमा बुंगमतीमा रथ निर्माण गरी त्यहीँबाट रथ तानेर ल्याई ललितपुर नगरको साबिक बमोजिम परिक्रमा गराई सो रथलाई पुन बुंगमतीमै पु¥याई समाप्त गरिन्छ । यो रातो मत्स्येन्द्रनाथ रथयात्रा सो समयमा दुई पटक पाटन जावलाखेल र बुंगमतीमा भोटो देखाई समाप्त गरिन्छ । सो नियम सम्बन्धमा नेपाल संवत् ८५२ मा लेखिएको ठ्यासफुमा उल्लेख भएको छ । मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन् । उक्त कुरा नेपाल संवत् ७९२ को सुवर्णपत्रमा नेपालका प्रख्यात कर्णाट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बुंगमती स्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रष्ट हुन्छ । यिनको उल्लेख ई.सं. १०१५ को अभिनवगुप्तकृत तन्त्रालोकमा “तन्मे स मच्छेन्द्रविभू” को रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ । पर्वतिया वंशावलीमा पनि अनावृष्टिको कारण मत्स्येन्द्रनाथ काम रूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ । गोपालराजवंशावलीमा “संवत् ५०७ वैशाष शुदि ४ श्री जयस्थितिराज मल्लदेव ठाकुरस त्रियपुत्र सहन वुगय यात्रा विज्याङ दिन १४ …“ भनी वर्णन गरेबाट १४ औँ शताब्दी राजा श्री जयस्थिति मल्लले शरद ऋतुमा गरिने मत्स्येन्द्रनाथ जात्रालाई वसन्त ऋतुमा सञ्चालन गरिने परम्परा चलाएको अनुमान हुन्छ । नेपालको रथजात्रा मध्ये सबैभन्दा ठूलो रथजात्रा व्यवस्थित र धेरै गुठी जग्गा भएको यस मत्स्येन्द्रनाथ जात्रामा बाहुन पूजारीले गौदानसहित शान्ति स्वस्ती गर्दछन् भने वज्राचार्यद्वारा हवन गरिन्छ । शाक्यद्वारा पूजाआजा गर्दछन् र ज्यापु समुदायले रथ तान्ने कार्य गर्दछन् । जात्राको अघिल्लो राती बाहुन क्षेत्री महिला लगायत अन्य जातका महिलाले पनि बत्ती जगाउने काम गर्दछन् । रथजात्रा नुगःमा ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले चलाएको र उनले नुगःटोलको विकास गरी नेपालसंवत् ७८१ (वि.सं. १७१८) देखि चलाएको मुनीन्द्ररत्न वज्राचार्यले ‘नेपालका चार प्रसिद्ध करुणामय लोकेश्वर’ पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा नुगःमा मत्स्येन्द्रनाथको ‘त्वाय् (मीत)’ रहेकाले उनलाई भेट गराउन लगेको भन्ने पनि उल्लेख छ । संस्कृतिविद् हरिराम जोशीले बुङ्मतीमा मत्स्येन्द्रनाथ मन्दिरको मूलद्वारमा ललितपुरका राजा श्रीनिवास मल्लले नेपाल संवत् ७९२ मा राखेको सुवर्णपत्रमा ‘मत्स्येन्द्र योगिना मुख्या’ भनी संस्कृत भाषामा श्लोक लेखिएको उल्लेख गर्दै भने, ‘मत्स्येन्द्रनाथ योगीहरूका मूख्य देवता हुन् । त्यसैले आश्विन कृष्णद्वादशी वा त्रयोदशीका दिन कानफट्टा योगीहरू मत्स्येन्द्र बहालमा आई रोटी दान गर्ने चलन चलेको हो ।’ ३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाको रथ अनि गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै हुने पुरानो बास्तुकलाको नमुना र जिवित सम्पदा मानिने रातो मच्छिन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ । यति अग्लो रथ पल्टिए वा भाच्चिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । तीन वर्षअघि (वि स्ं २०६६) रथ भाच्चिएका कारण शुरुदेखि निर्माण गर्नुपरेको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिल नेरबाट लगनखेल पु¥याइए पछि राति रथ अगाडि एक÷एक वटा राँगा, बोका, जिउूदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ र ३२ पानेजूद्वारा पञ्चरक्षाको पाठ पनि गरिन्छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोल तर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ । रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउू पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै ’याकःमिसा भूजया’ भनी महिलाहरूले मात्र रथलाई तानेर त्यहाँबाट अलिपर थतीको चौबाटोमा पु¥याउूछन् । नरिवल खसाल्ने दिनमा नै मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । तोकिएको दिन कुलदेवता पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथ सहित बराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगल बजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेल तर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुयाइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजा साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइनेछ । मीननाथलाई तानेर चक्रबहिलमा पु¥याएपछि पुल्चोकमा रथारोहण गराई सुरु गराइएको मत्स्येन्द्रनाथको रथयात्रा समापन हुन्छ । मत्स्येन्द्रनाथको महास्नान सकिएपछि तःबहालमा दसकर्म गरी नामकरण संस्कार गर्दा आर्याअवलोकितेश्वर भनी नामकरण गरे तापनि जनजिब्रोका करुणामय, रक्तावलोकितेश्वर, लोकनाथ, पद्मपाणि बुंगम लोकितेश्वर आदि विभिन्न नामबाट पुकारिन्छ । तर नेवार समुदायमा भने ‘बुंग द्यः’ नामबाट लोकप्रिय रहेको छ ।
विकीपिडिया ।
१२ बर्षे बिशेष मेलाको अवसरमा परम्परा अनुसार पहिलो दिन छ्यासीकोटदेखि भैँसेपाटीसम्म, दोस्रो दिन भैँसेपाटीदेखि नख्खु खोलासम्म र तेस्रो दिन नख्खु खोला देखि युलाखेल हुँदै पुल्चोकसम्म रथ तान्ने गरिन्छ ।
तेस्रो दिनको रथ जात्रा बारे एउटा रमाइलो कथा रहेको छ । रथलाई नख्खु खोलाबाट तानेर युलाखेलमा विश्राम गराइन्छ । किम्बदन्ती अनुसार नख्खु खोलासम्म आफ्नो छोराको पिछा गरिरहेकी श्री मत्स्येन्द्रनाथको राक्षस कुलकी आमाले छोरालाइ खोला तारेर लगेपछि अब कसरी जाने भन्ने चिन्ता परेछ । हतासमा भएकोले आफू राक्षसनी भएको र आफुसंग शक्ति भएको पनि बिर्सेछन । नख्खु वारि बसेर रोइरहेको बेला उनलाई झट्ट याद आयो र माछाको रुप लिएर नख्खु खोला पार गर्ने कोसिस गरेछन् तर सकेनछ । त्यसपछि बायुको वेगमा उडेर बल्ल तल्ल पार गरिन् र आफ्नो छोरा भएको ठाउँसम्म पुगेछन् ।
त्यसपछि अब मछिन्द्रनाथलाई उसकी आमाबाट कसरी पिछा छुट्टाउने भनेर मानिसहरु सोच्न थालेछन् र एउटा उपाय निकालेछ । छोरा भएको ठाउँ भन्दा अलि पर सुतेकी राक्षसनीलाई छल गरि कुनै आवाज ननिकाली बिस्तारै मत्स्येन्द्रनाथलाइ त्यहाँबाट भगाएर हालको पुल्चोक पुर्याएछन् ।
अर्को कथा अनुसार नख्खु तारेर रथलाइ हालको युलाखेलमा पुराएर राखिरहँदा कारणबस किर्तिपुरेहरुसँग पाटनवासीहरुको बाझाबाझ भएछ । मत्स्येन्द्रनाथ भने चुप लागेर ध्यान गरि बसिरहे । त्यसपछि अब किर्तिपुरमा रथ लानेछौँ पख भनेर किर्तिपुरका मान्छेहरु त्यहाँबाट किर्तिपुरमा मत्स्येन्द्रनाथ ल्याउनलाई मान्छे बोलाउन गए । १–२ जना कुरुवा बसेका थिए तर रात भएकोले निदाएछन् । मत्स्येन्द्रनाथको रथलाइ यतै राखे त किर्तिपुरमा लान्छ भन्ने डरले कसैले थाहा नपाउने गरि बाजागाजा केही नबजाइ सुटुक्क रथलाइ रातारात तानेर हालको पुल्चोक पुर्याइयो । भोलिपल्ट अमृतसमयमा किर्तिपुरका मान्छेहरु रथ लिन आउँदा त रथै थिएन । खोज्दै जाँदा हालको पुल्चोलमा पुर्याई सकाका रहेछन् । रथको धमा उतै फर्किरहेको हुनाले मत्स्येन्द्रनाथसंग माफी मागी फर्केछन् ।
रथको धमा (भैरवको मुकुट राखिएको कर्कट नागको स्वरुप मानिने रथमा पाङ्ग्राहरुको बिचमा रहेको लामो काठ) जता फर्किएको छ, रथ उतै तानिनु पर्छ भन्ने परापुर्व काल देखिको मान्यता अनुसार आज सम्म पनि भोलि रथ कता तन्ने हो, धमा पनि उतै फर्काएर राख्ने गरिन्छ । त्यसैले आज सम्म पनि १२ वर्षको मेलामा युलाखेलबाट रथलाइ मध्यरातमा हल्ला नगरी कुनै पनि बाजा नबजाइ तानेर पुल्चोक पु¥याउने गरिन्छ ।
श्रोतः सन्दिप महर्जन