काभ्रे । बनेपा नगरपालिकामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सशक्तीकरणमा स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘सबै महिला तथा बालिकाको लागि अधिकार समानता र सशक्तीकरण’ भन्ने नाराका साथ बनेपा नगरपालिकाले आयोजना गरेको प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै बनेपाका मेयर शान्तिरत्न शाक्यले यस्तो खालको प्रतियोगिताले महिलालाई अघि बढ्न प्रेरणा मिल्ने बताउँदै ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरेका छन् ।
नगरका विभिन्न सहकारी, क्लब तथा महिला समूहहरुको सहभागिता रहेको प्रतियोगितामा ९ जनाले भाग लिएका थिए । प्रतियोगिताबाट संगम नारी चेतना बहुउद्देश्यीय सहकारी संस्था बनेपा–८ कि सविता घोरसाइनी दाहालले प्रथम हुँदै नगद १० हजार, रोटरी क्लब अफ काभ्रे भ्याली, बनेपा–७ कि मनिषा श्रेष्ठले दोस्रो हुँदै ७ हजार, उग्रचण्डी महिला समूह, नालाकी सुन्दरी अछामले तेस्रो हुँदै ५ हजार र वडा नम्बर–१४ को महिला समूहकी रेणु तामाङले चौथो हुँदै सान्त्वना पुरस्कार नगद ३ हजार ५ सय प्राप्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बिमला सापकोटाले नगरपालिकाले पछिल्ला केही वर्ष यता महिलाका लागि केन्द्रीत थुप्रै कार्यक्रमहरु गरिरहेको बताउँदै यस्ता कार्यक्रमले महिलाहरुमा सीप र क्षमताको विस्तार गर्न सहयोग पुगेको धारणा राख्दै हरेक पालिकाले महिलाका लागि विशेष कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले नगरपालिकाले हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गर्दै आइरहेकाले यसैको निरन्तरता स्वरुप कार्यक्रम गरिएको जानकारी दिए ।
बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोद न्यौपाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा करिब १ सय जना महिला र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।