ट्रेण्डिङ

बीपी राजमार्गमा रातको सवारी सञ्चालनमा थप एक महिना प्रतिबन्ध

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (१ साल अघि)
  • ३९८ पटक पढिएको
बीपी राजमार्गमा रातको सवारी सञ्चालनमा थप एक महिना प्रतिबन्ध

काभ्रे । बर्खामा बाढी र पहिरोको जोखिम अझै उच्च रहेको भन्दै बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा थप एक महिनाका लागि प्रतिबन्ध लगाइएको छ।

काभ्रेपलाञ्चोक जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ६:३० बजेबाट बिहान ५ बजेसम्म यात्रुबाहक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार जोखिम कायमै रहेकाले रोकको अवधि साउन महिनाभर कायम रहनेछ।

यसअघि असार ६ गते सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समन्वय समितिको संयुक्त बैठकले रातको समयमा १५ दिनका लागि सवारी सञ्चालन रोक्ने निर्णय गरेको थियो। उक्त निर्णय काभ्रेको भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका उच्च जोखिमयुक्त स्थानलाई ध्यानमा राखेर गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले शुक्रबार जारी गरेको सूचनाअनुसार राजमार्गका धेरै स्थानमा पहिरो र बाढीको जोखिम कायमै छ। यात्रुको सुरक्षा सुनिश्चित गर्न रोक थप गरिएको हो। स्थानीय प्रशासनले यात्रुहरूलाई सम्भव भएसम्म दिनको समयमा यात्रा गर्न र जोखिमपूर्ण क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।