
काभ्रे । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नमोबुद्ध नगरपालिकाले ११ वटै वडामा कार्यक्रम सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
विगत पाँच वर्षभित्र भएगरेका काम तथा हिंसाको अवस्थाका विषयमा वडास्तरीय छलफल कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त छलफल कार्यक्रममा वडाध्यक्ष, महिला सदस्य, प्रधानाध्यापक, कलेजका प्राध्यापक, शिक्षक महिला, स्वास्थ्य स्वयंसेविका, बाल क्लव, प्रहरी, महिला सहकारी तथा आमा समूह लगायतको सहभागिता रहने नगरपालिकाले जनाएको छ ।
कार्यतालिका अनुसार, मंसिर ११ गते वडा नं. ४ को कार्यालयबाट छलफल सुरु भई क्रमशः १२ गते वडा नं. ८ को दाप्चा मावि, १३ गते वडा नं. ३ को भेडाबारी, १४ गते वडा नं. ९ को कृष्ण मावि, १५ गते वडा नं. ५ को वडा कार्यालय, १७ गते वडा नं. ७ को रजवम पोखरी गुम्बा, १८ गते वडा नं. १ को वडा कार्यालय, १९ गते वडा नं. २ को लकाइने, २० गते वडा नं. ६ को वडा कार्यालय र २१ गते वडा नं. ११ को वडा कार्यालयमा छलफल हुनेछ । अभियानको समापन कार्यक्रम मंसिर २२ गते वडा नं. १० को कार्यालयमा हुने महिला, बालबालिका तथा जेष्ठ नागरिक उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।
