ट्रेण्डिङ

सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पूरा गर्छौंः मन्त्री तामाङ

मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ कार्तिक १५, शनिबार (८ महिना अघि)
  • २०१ पटक पढिएको
सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पूरा गर्छौंः मन्त्री तामाङ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर) द्वारा मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ ।

शिलान्यास गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउने गरी अघि बढेको बताए । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पूरा गर्ने क्रममा यो सडक शिलान्यास भएको दाबी गर्दै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबैप्रति आभार समेत व्यक्त गरे ।
प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै यो सडकले मेलम्ची क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पुर्याउने विश्वास मन्त्री तामाङले राखे । विशेषतः पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइनको रुपमा रहेको यस सडकको ३२ किलोमिटर क्षेत्रलाई पूरा गर्नेगरी आफू लागिपरेको बताए ।
कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले लामो समयदेखि बन्न नसकेको यो सडक धेरै प्रयासपछि बन्न लागेको बताए । सबैको अथक प्रयासपछि बजेट पार्न सफल भएको हुँदा कसैले पनि व्यक्तिगत तथा पार्टीगत रुपमा जस लिन जरुरी नरहेको प्रमुख तामाङले तर्क राख्दै पर्यटकीय धार्मिकस्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको भएको बताए । साथै यस सडकका कारण मेलम्ची नगरपालिकाले धेरै आलोचना खेप्नु परेको बताउँदै छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउने प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले आफ्नो गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेको सडक कालोपत्रेका लागि शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउँदै पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, अमन मास्के, कृष्णकुमार तामाङ समिर लगायत आफूहरुको लगातारको मिहेनत र संघर्ष पश्चात् आज गौरवको योजनाको सुरुवात भएको बताए ।
आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौताराबाट ईफाता÷गेहेन्द्र जे.भी. सँग ९ करोडको ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको सो सडक परियोजनाले स्थानीय बासिन्दालाई सहज आवागमन र बजार पहुँच प्रदान गर्नेछ ।
पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा मेलम्ची वडा नम्बर १० का अध्यक्ष अमृत खनाल, वडा नम्बर ९ का अध्यक्ष किरणदीप खड्का लगायत पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय लगायतको सहभागिता रहेको थियो ।