ट्रेण्डिङ

अरनिको राजमार्गको सडक खण्ड निर्माण कार्यमा सुस्तता, सास्ती खेप्दै यात्रुहरू

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ कार्तिक २०, बिहिबार (८ महिना अघि)
  • २०९ पटक पढिएको
अरनिको राजमार्गको सडक खण्ड निर्माण कार्यमा सुस्तता, सास्ती खेप्दै यात्रुहरू

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– धुलिखेल सडकखण्ड आसपासका पूर्वाधारहरू समयमै हटाउन नसक्दा निर्माण कार्य ढिलो भएसँगै यात्रुहरूले सास्ती खेप्दै यात्रा गर्नुपरेको छ ।
बिजुलीका पोल, घरटहराहरू नहटाउँदा र सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्नेहरुले सहयोग नगर्दा अरनिको राजमार्ग निर्माण कार्यले गति लिन नसकेको हो । घरटहराका लागि मुआब्जा नदिने निर्णय गरेसँगै बिना मुआब्जा हटाउनुपर्दा चुनौती आएको सडक आयोजनाले जनाएको छ । सडक आयोजनाका अनुसार हालसम्म ९० प्रतिशत साइट क्लियरको काम सकिएको छ भने अझै १० प्रतिशत साइट क्लियरको काम बाँकी रहेको छ । जसमा करिब १०–१२ वटा घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी रहेको जनाएको छ ।
१५.८ किलोमिटर सडक खण्डलाई मुख्य सडक र सर्भिस लेन गरी ६ लेनम विस्तार गर्न भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ । यो सडक खण्ड विस्तार भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी पहाडी र तराई जिल्ला र चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने बताइएको छ ।
सूर्यविनायक–साँगा खण्डको दूरी ७.५ किमि स्तरोन्नतिका लागि आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते जिम्मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म मात्र छ । हालसम्म यसको भौतिक प्रगति ४० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
दोस्रो खण्ड साँगा–धुलिखेलमा ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दोस्रो प्याकेजअन्तर्गत बनेपा–धुलिखेल क्षेत्रमा करिब चार किलोमिटर सडक कालोपत्रे भए पनि अधिकांश काम बाँकी छ । साँगा–धुलिखेल खण्डको दूरी ८.३ किमि छ । लामा कन्स्ट्रक्सनले २०७९ मंसिर १८ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । समयमा काम पुरा नभएपनि आगामी पुस मसान्तसम्म समय थप गर्ने तयारी भईरहेको छ ।