ट्रेण्डिङ

काभ्रे उद्योग वाणिज्य महासंघको ४३औं साधारणसभा तथा ५९औं स्थापना दिवस सम्पन्न

निजी क्षेत्र रोजगार, कर र पूर्वाधार विकासको प्रमुख आधार भएपनि व्यवसाय गर्ने वातावरण असुरक्षित छ: महासंघ अध्यक्ष ढकाल
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ कार्तिक २३, आईतबार (८ महिना अघि)
  • ३०३ पटक पढिएको
काभ्रे उद्योग वाणिज्य महासंघको ४३औं साधारणसभा तथा ५९औं स्थापना दिवस सम्पन्न

काभ्रे । काभ्रे उद्योग वाणिज्य महासंघको ४३औं साधारणसभा तथा ५९औं स्थापना दिवस आइतबार बनेपामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले साधारणसभाको उद्घाटन गर्दै निजी क्षेत्र रोजगार, कर र पूर्वाधार विकासको प्रमुख आधार भएपनि व्यवसाय गर्ने वातावरण असुरक्षित रहँदा उद्यमीहरूमा निराशा देखिएको बताए ।


उनले जबसम्म राज्यले व्यवसायीलाई आन्दोलनको निशाना बन्न नदिने संकल्प गर्दैन, तबसम्म निजी क्षेत्र ढुक्क भएर काम गर्न नसक्ने बताए ।
पछिल्लो समय भएको जेनजी आन्दोलनको उद्देश्य पारदर्शिता र सुशासन भए पनि त्यसका नाममा आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधि भएको भन्दै संलग्नहरूलाई कडा कारबाही गर्न सरकारसँग आग्रह गरे ।
साधारणसभाको अध्यक्षता संघको अध्यक्ष प्रताप बैद्यले गर्दै हलो देखि हाईड्रोसम्म भएका लगानीको सुरक्षा, व्यवसायिक वातावरण, उद्योगमैत्री नीति, विकास निर्माण तथा नागरिकहरुले खोजेको रोजगारमा नीजि क्षेत्रको लगानी लगायतका विषयमा धारणा राखे ।

कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षद्वय सुरकृष्ण बैद्य, ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रजित पलाञ्चोकेले गरेका थिए भने प्रस्तुत गरेका प्रतिवेदनहरु साधारणसभाबाट पास गरिएको थियो ।