ट्रेण्डिङ

एक दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ सम्पन्न

निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ पौष १६, बुधबार (६ महिना अघि)
  • ३२७ पटक पढिएको
एक दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८२ सम्पन्न

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एक दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री अर्यालले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न प्रदेशस्तरीय गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सुरक्षा निकायको मनोबल बढाउने कार्यमा नेपाल सरकार सदैव क्रियाशील रहेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री अर्यालले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्न सुरक्षा केन्द्रित गोष्ठीले उल्लेखनीय भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मेवार निकायहरूले आ–आफ्नो क्षेत्रमा सक्रिय भई जिम्मेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिए । समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउँदै कोशी प्रदेशमा लागूपदार्थ दुव्र्यसन ठूलो समस्याको रूपमा रहेकोले यसलाई नियन्त्रण गर्न विशेष अभियानका साथ अगाडि बढ्नुपर्ने बताए ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कोशी प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा आसन्न निर्वाचनलाई सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ–आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिए । प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आ–आफ्नो दायित्व बोधबाट मात्र सम्भव हुने चर्चा गर्दै सवारी दुर्घटना न्यूनीकरण, खुल्ला सिमानाको कारण हुने चोरी तस्करी, राजस्व चुहावट, अखाद्य बस्तु विक्रीवितरण, कालोबजारी एवम् गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न समेत उनले निर्देशन दिए ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव नारायण प्रसाद रिसालले कोशी प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य सहित सुरक्षा गोष्ठीको उद्देश्यका बारेमा प्रस्तुतीकरण गरेका थिए । गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गरिएको गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।