
काभ्रे । तथ्याङ्क समन्वय कार्यालय काभ्रेले तथ्याङ्क दिवस २०८२ को अवसरमा कार्यालयका तथ्याङ्क समन्वय अधिकारी दिपक कोइरालाको अध्यक्षतामा जिल्लाका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरेको छ।
कार्यक्रममा तथ्याङ्क समन्वय अधिकारी कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै उनले आफूहरुले तथ्यांकहरुकाे संकलन गर्ने काम गरिरहेकाे भए पनि त्यसलाई नागरिकसामु प्रवाह गर्ने काम पत्रकारहरुले गरिरहेकाे बताउँदै तथ्यांकमा अवधारणा र विधि हुने प्रष्ट बताए ।

कुनै पनि तथ्यांक संकलन गर्दा तथ्यांककाे गुणस्तरमा ध्यान दिनुपर्नेमा जाेड दिँदै आगामी चैत १ गतेदेखि राष्ट्रिय गणना हुने समेत जानकारी दिए ।
विसं २०१५ साल पुस १७ गते पहिलाे पटक तथ्यांक संकलन भएकाे मितिलाई आधार बनाएर हरेक वर्ष पुस १७ गतेलाई तथ्यांक दिवसकाे रुपमा मनाउने गरिन्छ । यसैक्रममा आज तथ्यांक समन्वय कार्यालय काभ्रेले पनि अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनाेदकुमार न्याैपाने लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा कार्यालयका कर्मचारीहरूको योगदानको कदर गर्दै सुपरिवेक्षक सन्तोष कार्की र कार्यालय सहयोगी खड्गबहादुर भुजेललाई सम्मान समेत गरिएको थियो ।
