
काभ्रे । बेथानचोक गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रमा पञ्चकर्म तथा पूर्वकर्मको शुभारम्भ भएको छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पञ्चकर्मको लाभ लिन आग्रह गरे ।

उनले शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी अब गाउँघरमै पाइने भएकोले सेवा लिन सबैलाई आग्रह गर्दै जडीबुटीको प्रयोग, योग र ध्यान मात्र नभएर पंचकर्मद्धारा शरीर शुद्ध गराई मानिसको समग्र स्वास्थ्य प्रवर्धन गर्ने एवम् जीवनशैलीमा परिवर्तन गराई स्वस्थ समाजको निर्माण गर्ने अभियानको आयुर्वेदको उच्च स्थान रहेको र स्वस्थ समाज निर्माणको अभियानमा गाउँपालिकाले लगानी गरिरहेको अध्यक्ष अधिकारीको भनाई थियो ।
बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जनप्रतिनिधहरु राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो । उपलब्ध सेवा बारे जिल्ला आयुर्वेद कार्यलयकी वरिष्ठ वैद्य जानुका भट्टराईले प्रकाश पारेकी थिइन् भने ढुंखर्क स्वास्थ्यचौकी प्रमुख किरण प्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
