
काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ ।
जिल्ला अध्यक्ष तीर्थ लामा, प्रतिनिधिसभा क्षेत्रीय सभापति क्षेत्र नं. १ का दिनेश लामा, प्रतिनिधिसभा क्षेत्रीय सभापति क्षेत्र नं. २ का सभापति महेश खरेल, प्रदेश सभा क्षेत्रीय सभापति क्षेत्र नं. १ ख का चन्द्रबहादुर लामा, प्रदेश सभा क्षेत्रीय सभापति क्षेत्र नं. १ क का रामबहादुर योञ्जन, प्रदेशसभा क्षेत्रीय सभापति क्षेत्र नं. २ क का हेमकुमार तामाङले बिहीबार विज्ञप्तिमार्फत् काभ्रेका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।

कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा उपस्थिति र सक्रिय सहभागिताको लागि काभ्रे जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू साथै सम्पूर्ण तहमा रहनुभएका नेपाली कांग्रेसका अग्रज, साथीहरू एवम् शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
सभापति लामाले महाधिवेशन प्रतिनिधिले विधिवत ढंगले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रुपमा सम्बोधन गरी विधि र पद्दतिलाई कार्यान्वयनतर्फ उन्मुख गराएको भन्दै महामन्त्रीद्वयप्रति कृतज्ञता व्यक्त गरेका छन् । विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । महाधिवेशनका लागि विशेष पक्षधरले भुकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ ।

