ट्रेण्डिङ

भोटेकोशी बाढीपीडितका लागि कांग्रेस बनेपा नगरद्वारा २ लाख २३ हजारभन्दा बढी सहयोग

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ भाद्र १८, बिहिबार (२२ घण्टा अघि)
  • ३७ पटक पढिएको
भोटेकोशी बाढीपीडितका लागि कांग्रेस बनेपा नगरद्वारा २ लाख २३ हजारभन्दा बढी सहयोग

काभ्रे । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले स्थापना गरेको राहत कोषमा रु. २ लाख २३ हजार ३६४ संकलन भएको छ।

नेपाली कांग्रेस बनेपा नगरअन्तर्गत विभिन्न तह तथा पदमा रहेका ५४ जना नेता तथा कार्यकर्ताबाट संकलित उक्त रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको विपद् कोषमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने उद्देश्यले जम्मा गरिएको हो।

नगर सभापति महेश कुमार कर्माचार्यका अनुसार संकलित रकम नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको रोहबरमा नेपाली कांग्रेस केन्द्रीय विपद् कोषमा जम्मा गरिएको हो।

बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगर कार्यसमितिले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। अभियानमा नगरदेखि वडा तहसम्मका नेता, जनप्रतिनिधि, महिला तथा युवा नेतृ/नेतासहित विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका छन्।

नगर सभापति कर्माचार्यले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै संकलित रकम बाढीपीडितको राहत तथा उद्धारमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरे।