ट्रेण्डिङ

धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै गैह्रीभञ्ज्याङ, पूर्वाधार विकासका लागि महायज्ञ आयोजना

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८३ मंसिर ६, आईतबार (१३ घण्टा अघि)
  • १९ पटक पढिएको
धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै गैह्रीभञ्ज्याङ, पूर्वाधार विकासका लागि महायज्ञ आयोजना

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङस्थित लक्ष्मीनारायण मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। मंसिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञमार्फत मन्दिरको पूर्वाधार विकास, गुरुकुल स्थापना र धार्मिक बाटिका निर्माणका लागि आर्थिक स्रोत संकलन गरिने भएको हो।
मन्दिर व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी महायज्ञको तयारी र उद्देश्यबारे जानकारी गराएको हो। संकलित रकम मन्दिरका लागि आवश्यक जग्गा खरिद, अधुरो भवन निर्माण, गुरुकुल भवन स्थापना तथा धार्मिक बाटिका विकासमा खर्च गरिने आयोजकले जनाएको छ।
महायज्ञको पहिलो दिन मन्दिर परिसरबाट क्षेत्रपाल महाकाल हुँदै गेलुङ बजारस्थित श्रीकृष्ण प्रणामी मन्दिर, मुक्तेश्वर महादेव र बाह्रबिसेसम्म धार्मिक शोभायात्रा निकालिनेछ। शोभायात्रा पुनः मन्दिर परिसरमा फर्किएपछि महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको छ। सप्ताहमा प्रमुख वाचकका रूपमा १००८ स्वामी चक्रपाणी आचार्य रहनेछन्।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीले नियमित भजनकीर्तनबाट सुरु भएको धार्मिक अभियान अहिले संस्थागत विकासको चरणमा पुगेको बताए। उनका अनुसार २०७३ सालदेखि यस क्षेत्रमा धार्मिक गतिविधि विस्तार हुँदै आएको छ। २०७४ भदौ १४ गतेदेखि प्रत्येक एकादशीमा अखण्ड भजनकीर्तन सञ्चालन हुँदै आएको छ। यसले वर्षभरि विभिन्न धार्मिक अनुष्ठान तथा कार्यक्रम सञ्चालन गर्ने वातावरण तयार गरेको उनले बताए।
स्वर्गीय भीमप्रसाद सापकोटाको परिकल्पनामा लक्ष्मीनारायण मन्दिर निर्माण सुरु गरिएको उल्लेख गर्दै अध्यक्ष अधिकारीले स्थानीय समुदायको निरन्तर सहयोग र सक्रियताले धार्मिक संरचना विस्तारको काम अघि बढेको जानकारी दिए। महायज्ञबाट प्राप्त सहयोगलाई योजनाबद्ध रूपमा पूर्वाधार निर्माण तथा धार्मिक गतिविधिको विस्तारमा लगाइने उनको भनाइ छ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गुरुकुलसहितको धार्मिक बाटिका निर्माणलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको बताए। धार्मिक शिक्षा, सामाजिक संस्कार, अनुशासन र सांस्कृतिक पहिचानको संरक्षणमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। गाउँपालिकाले समपूरक योजनामार्फत उक्त क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए।
धार्मिक बाटिकासहितको पार्कलाई व्यवस्थित पर्यटकीय संरचनाका रूपमा विकास गरी स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए। गाउँपालिकाका वडा नं. १ देखि ६ सम्म रहेका धार्मिक स्थलहरूको संरक्षण, प्रचारप्रसार र व्यवस्थापन गर्दै धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने योजना पनि अघि बढाइएको उनले उल्लेख गरे।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गैह्रीभञ्ज्याङ क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सडक, मन्दिर, गुरुकुल शिक्षा र धार्मिक बाटिका निर्माणलाई प्राथमिकता दिइएको बताइन्।
त्यस्तै, वडा नं. ३ का अध्यक्ष कुबेर ढकालले ११७ घरधुरीको सहभागितामा लामो समयदेखि धार्मिक गतिविधि सञ्चालन गर्दै आएको मन्दिर व्यवस्थापन समितिको योगदान प्रशंसनीय रहेको बताए। गाउँपालिकाको गौरवको आयोजनालाई सफल बनाउन वडा कार्यालयले आवश्यक सहजीकरण गर्दै आएको उनले जानकारी दिए।
महायज्ञ सञ्चालनका लागि गाउँपालिकालाई संरक्षक राखेर मूल समारोह समिति गठन गरिएको छ। पण्डित गुरु श्रीनिवास अधिकारीको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा कुमार घिमिरे, सचिवमा वेदप्रसाद तिमल्सिना र कोषाध्यक्षमा रघुनाथ दाहाल रहेका छन्। आजीवन सदस्यसहित २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको आयोजकले जनाएको छ। महायज्ञलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिसमेत गठन गरी तयारी तीव्र पारिएको छ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना, वडा नं. ४ का अध्यक्ष कृष्ण पाख्रिन, पूर्ववडा अध्यक्ष दिलबहादुर श्रेष्ठ, समाजसेवी मछिन्द्र लामा, वडा सदस्य, सञ्चारकर्मी तथा वैष्णव परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम आयोजक समितिका उपाध्यक्ष कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने समितिका सचिव वेदप्रसाद तिमल्सिनाले महायज्ञको कार्यक्रम तथा निर्माण योजनाबारे जानकारी गराएका थिए।