
काठमाडौं । पश्चिममध्य बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात “अर्नब” (Arnab) भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार जमिनमाथि प्रवेश गरेको अति शक्तिशाली चक्रवात “अर्नब” उत्तर–उत्तरपश्चिम दिशातर्फ क्रमशः कमजोर हुँदै अघि बढेर बिहीबार Deep Depression मा परिणत हुने सम्भावना छ ।
चक्रवात “अर्नब” (Arnab) को प्रभावः
नेपालको वायुमण्डलमा पनि आजदेखि चक्रवात “अर्नब” को प्रभावले बादल (High Clouds) देखिन थालेको छ । बिहीबारदेखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ । कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग असिना सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारी वर्षा÷हिमपातको सम्भावना छ ।
तसर्थ, धानबाली भित्र्याउने लगायतका कृषि कार्य आगामी १४ गते (शनिबार) सम्म नगर्नुहुन, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधी तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू–भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाउँमा रहनु हुन अनुरोध छ । यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
