
काभ्रे । भुम्लु गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गरेका छात्रछात्रालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
२०८१ को एसईई परीक्षामा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरु मध्ये सबैभन्दा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका एक छात्र र एक छात्रालाई नगद एक लाख पुरस्कार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले जानकारी दिएका छन् ।
उत्कृष्ट अंक ल्याई पुरस्कृत हुनेमा भुम्लु गाउँपालिका वडा नं. १ सापिङ, रिठ्ठेस्थित श्री सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरीले ३.७० जि.पि.ए. ल्याएका छन् भने छात्रातर्फ वडा नं. ३ बेखसिम्लेस्थित श्री वनदेवी माध्यमिक विद्यालयका मिरा श्रेष्ठले ३.३५ जि.पि.ए. ल्याएका हुन् ।

सोही अवसरमा विषयगत शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको छ । त्यस्तै समग्र पालिकाभरिमा प्रतिस्पर्धाको आधारमा प्रथम, द्वितीय र तृतीय भएको विद्यालयहरुलाई समेत नगद सहितको सम्मान गरिएको छ ।
भुम्लु गाउँपालिका वडा नं. ७, फलाँटे श्री शारदा मावि प्रथम ५० हजार, वडा नं. ४ याक्पा श्री सेतीदेवी मावि द्वितीय २५ हजार र वडा नं. ३ बेखसिम्ले श्री वनदेवी मावि तृतीय १५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताएका छन् ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष अञ्चलकुमार मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कमलराज गिरी, प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भट्टराई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।
