
काभ्रे । बनेपा नगरपालिका–७ चाँदनीचोकस्थित सडक खण्डमा आज (बुधबार) बा.प्र.०२–०६३प ९१८९ नम्वरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०१–००४ क ३४२३ नम्वरको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नं. ५ बस्ने वर्ष अन्दाजी ३१÷३२ को ओमन प्रधान गम्भिर घाईते भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लग्दा डाक्टरले मृत घोषणा गरेको थियो । टिपर चालक जिल्ला सिन्धुपालचोक इन्द्रावति गाउँपालिका वडा नं. ६ बस्ने वर्ष अन्दाजी ३२ को दिपक रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त घटना भए लगत्तै बनेपा क्षेत्र तनावग्रस्त बनेको थियो भने आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका थिए । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि सुरक्षाकर्मी परिचालन गरेर अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।


