
काभ्रे । बुद्धचित्तको दाना डाँका चोरी तथा ज्यान मार्ने प्रयासका आरोपी ६ वर्षपछि काभ्रे प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा महाभारत गाउँपालिका–२ का ४५ वर्षीय ‘दीपक’ भनिने राजेन्द्र घलान तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले खोजतलासका क्रममा तामाङलाई बनेपा–७ स्थित बसपार्कबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वि.सं. २०७७ असार ११ गते रोशी गाउँपालिका–५ मा बुद्धचित्तको रुख कुरुवा बसेका व्यक्तिहरूमाथि धारिलो हतियार र बन्दुक प्रहार गरी दाना डाँका गरिएको थियो। उक्त घटनामा मानबहादुर तामाङ र दुर्गाबहादुर तामाङको किटानी जाहेरीका आधारमा ९ जनाविरुद्ध डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा मुद्दा चलेको थियो। घटनालगत्तै तामाङ फरार रहँदै आएका थिए।
अदालतबाट धरौटी, तर पुनः हिरासतमा प्रहरीले अनुसन्धान पूरा गरी अभियुक्त तामाङलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले माग गरेको ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी सो मुद्दामा रिहा भएका छन्।
यद्यपि, हरिकुमार ठकुरीको जाहेरीमा दर्ता भएको अर्को ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दामा समेत उनी संलग्न रही फरार रहेको खुलेकाले प्रहरीले तामाङलाई नियन्त्रणमै राखी थप अनुसन्धान अगाडि बढाएको छ।
