
भक्तपुर । सूर्यविनायक नगरपालिका–५, सृजनानगरस्थित पाथीभरा एकेडेमी विद्यालयले आफ्नो आफ्नो १४औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले स्वागत मन्तव्य राख्दै १४ वर्षको विद्यालय स्थापना दिवस तथा अभिभावक दिवस मनाइरहँदा यो केवल वर्षको संख्या गणना मात्र होइन, यो अभिभावक र विद्यालयबीचको गहिरो सम्बन्धको प्रतिक हो । यो वर्षौँको मिहिनेतको कथा हो र साना नानिबाबुहरूको सुनौलो भविष्य निर्माणमा निरन्तर समर्पित भएर लागेको समयको उत्सव भएको बताए ।

त्यस्तै विद्यालय सञ्चालक समिति सदस्य बुद्धि बहादुर थापाले मन्तव्य राख्दै विद्यालय स्थापनाकालदेखिको संघर्षपूर्ण यात्रा, भूकम्पले दिएको पीडा, कोभिड–१९ महामारी जस्ता चुनौतीहरू स्मरण गर्दै ती कठिन अवस्थाहरू पार गरेर आज १४औँ वार्षिकोत्सव मनाउन पाउनु अत्यन्तै खुशीको विषय भएको बताए । विद्यालय यहाँसम्म आइपुग्नु सबैको सामूहिक प्रयास, अभिभावकको विश्वास र शिक्षकहरूको समर्पणको परिणाम भएको उल्लेख गरे ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पाथीभरा एकेडेमी सिजन–वान सिङ्गिङ आइडल प्रतियोगितामा कक्षा ३ की छात्रा दिपसना कार्की विजेता, कक्षा ३ की छात्रा स्नेहा के.सी. प्रथम उपविजेता र कक्षा ३ की छात्रा एभलिन थापा द्वितीय उपविजेता विजेता हासिल गरेका थिए । त्यसैगरी “मेलोडी भ्वाइस सिङ्गर” मा कक्षा ७ का कृष्टभ थापा मगरलाई सम्भावित सिङ्गर र कक्षा ६ की आर्शिया भुजु भएका छन् ।

सिङ्गिङ आइडल प्रतियोगिताको निर्णायक मण्डलमा नवराज सापकोटा, आयुष गोपाली र केशब बादी रहेका थिए । त्यस्तै अभिभावकहरुका लागि स्काउट शिक्षकले पापड छिटो खाने प्रतियोगिता आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा कक्षा ४ मा अध्ययनरत छात्र प्रसुन दाहालका अभिभावक दुर्गा प्रसाद दाहाल प्रथम, कक्षा ३ मा अध्ययनरत डेन्जल तामाङकी अभिभावक पूर्णिमा तामाङ दोस्रो र कक्षा २ मा अध्ययनरत इसान बिष्टको अभिभावक साबित्रा कार्की बिष्ट तृतीय भएका थिए भने विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
विद्यालयलाई प्रत्यक्ष रुपमा सहयोग पु¥याउने अभिभावकहरू कक्षा ६ मा अध्ययनरत प्रत्युसा श्रेष्ठका अभिभावक पारस श्रेष्ठ, कक्षा ७ मा अध्ययनरत आर्या प्रधानकी अभिभावक निशा प्रधान एवं मिहिनेती, लगनशील र समर्पित शिक्षक–शिक्षिकाहरूलाई सम्मान गरिएको थियो ।

१० वर्षदेखि निरन्तर शिक्षण पेशामा समर्पित शिक्षिका शृशा कवालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८१ मा नियमित विद्यालय उपस्थित रहने तथा न्यून गयल दर कायम गर्ने शिक्षिकाहरू कमला लिम्बू, भावना बुढाथोकी, सम्झना बानिया, अञ्जु तिम्सिना, यसोदा उप्रेती र शुशिला सुवाल सम्मानित भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापतित्व हेमन्त सिटौलाले विद्यालयको भावी योजना प्रस्तुत गर्दै विद्यार्थीहरूको चौतर्फी विकास हुने गतिविधिहरूलाई थप प्रभावकारी बनाइने र गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर विद्यालय अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।


