
काभ्रे । मण्डनदेउपुर नगरपालिका राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गरेको छ ।
नेपालकै पहिलो स्थानीय तह बनेको मण्डनदेउपुर नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष २०८२/०८३ मा विद्यालयमा भर्ना भएका ५९ महिनामुनिका ६ सय ५९ जना बालबालिकाले नेपाल सरकारले उपलब्ध गराउने सबै खोप तथा आवश्यक मात्रा पूरा गरेको वडा र विद्यालय तहबाट सुनिश्चित भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
महादेवस्थानस्थित नगरपालिका सभाहलमा आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले नगरपालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा नगरप्रमुख टोकबहादुर वाईवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो भने नगर प्रमुख वाईवाले पूर्णखोप सुनिश्चित भएका ५९ वटा विद्यालयलाई नगरपालिकास्तरीय खोप समन्वय समितिको तर्फबाट प्रमाणपत्र प्रदान गरेका थिए ।
नगरपालिकाभित्र रहेका ४३ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयमा अध्ययनरत ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार पाउनुपर्ने सबै खोप प्राप्त गरेको नगर प्रमुख वाईबाले बताए ।
सोही कार्यक्रममा पूर्णखोप सुनिश्चित अभियानलाई सफल बनाउन समन्वय, सहकार्य र सहजीकरणमा महत्वपूर्ण योगदान पु¥याएका स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप सेवा शाखा (टेकु, काठमाडौं), जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, विश्व स्वास्थ्य संगठन (WHO–IVD) नेपाल तथा खोप अधिकृत पार्थमणि न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल, जनप्रतिनिधिहरू, जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने, विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि डा. रुपेश तिमिल्सिना, नगरभित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
