
काभ्रे । बेथानचोक गाउँपालिका सडक बालबालिकामुक्त पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको ६ वटै वडाको वडा समितिको निर्णय अनुसार आ–आफ्नो वडाको क्षेत्र भित्रको गाउँटोल, समुदाय–बस्ती, गल्ली, मन्दिर परिसर, सडक वा कुनै पनि स्थानमा वेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएको वा नदेखिएको वा फेला नपरेको कारण सडक बालबालिका मुक्त वडा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
शुक्रबार गाउँपालिकाको सभाहलमा गृहिणी महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा तथा सडक बालबालिका मुक्त स्थानीय तह घोषणा कार्यक्रममा गाउँपालिकालाई सडक बालबालिकामुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले एक पछि अर्को सुचकमा बेथानचोक गाउँपालिकाले सफलता हासिल गरेकोमा खुशी व्यक्त गरेका छन् ।
हिंसाका कारण, अभिभावक नभएका कारण बालबालिका सड्कमा आउनसक्ने हुँदा बाल हिंसा घटना दिन नहुने भन्दै बालबालिका मुलुकको भोलीको कर्णधार भएकोले उनीहरु सडकमा आउने पर्ने अवस्था आउन नदिन सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । सडक बालबालिकाहरूलाई शिक्षाको दायरामा ल्याउनु र समाजमा सँगै बस्न र बाँच्न पाउनुपर्ने कुराको ग्यारेण्टी गर्नुपर्ने गौतमले बताए ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले महिला तथा बालबालिकाको क्षेत्रमा गाउँपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको र उनीहरुको हक अधिकार कार्यान्वयन गर्न जिम्मेवार ढंगले कार्य आएको बताइन् । भावी दिनहरुमा समेत कुनै बालबालिका सडकमा आउने पर्ने अवस्था सृजना नहोस भन्नका लागि सबै पक्षले जिम्मेवार ढंगले कार्य गर्दै जानुपर्ने उपाध्यक्ष तिमल्सिनाले बताइन् । सो अवसरमा सडक बालबालिकामुक्त घोषणा गरिएका सबै ६ ओटै वडाका जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
