
काभ्रे । समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोकद्वारा प्रकाशित मुखपत्र ‘संकल्प’ लोकार्पण गरिएको छ ।
शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बनेपामा एक कार्यक्रमका बिच ‘संकल्प’ लोकार्पण गरिएको हो । समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष दिनेशराज खरेलको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले अहिलेको राजनीतिक अवस्थाका बारेमा चर्चा गरेका छन् ।
लोकार्पण कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्लाका इन्चार्ज टोकबहादुर वाइबाले एउटा पत्रकारले सकारात्मक र नकारात्मक दुवै कुरा देख्न सक्नुपर्ने बताउँदै पत्रकारले कुनै पनि राजनीतिक झण्डा नबोकी निष्पक्षताको आधारमा कलम चलाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालले अहिलेको अनलाइनको जमानामा एउटा पठनीय मुखपत्र प्रकाशन गरेकोमा खुशी व्यक्त गरे । अहिले समाजमा सकारात्मक सूचनाभन्दा पनि नकारात्मक सूचना चाँडै प्रचार हुने गरेको छ । नकारात्मक सूचनाहरूकै कारण राम्रा सूचना छायाँमा परेका छन् । समाजलाई सकारात्मक सूचना दिने, सही बाटोमा ल्याउने काम मिडियाको हो र अहिलेको वर्तमान अवस्थामा पत्रकारहरूलाई आजको समय कुनै चुनौतीभन्दा कम नभएको लम्सालले बताए ।
नेकपा एकीकृत समाजवादी काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईंले जो जुन संगठनमा भए पनि सबैले सबैको पक्षमा सकारात्मक कामहरू गर्दै जानुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका कार्यवाहक अध्यक्ष कपिल कोइराला, प्रेस युनियन नेपाल काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, गोकुल गौतम, तुयुकाजी ताम्राकार लगायतले आ-आफ्नो धारणा राखेका छन् ।
उक्त कार्यक्रममा पार्टी प्रचार विभागका संयोजक सरोज कुईंकेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, बनेपा वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द केसी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष ध्रुव रायमाझीले गरेका थिए ।
