
काभ्रे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा प्रकाशित मानवअधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समिक्षा आज (सोमबार) सम्पन्न भएको छ ।
बनेपामा सम्पन्न भएको पूर्व समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले जनजाति समुदायबाट हिंसाका घटना बढी आउनुमा शिक्षाको अवस्था कमजोर भएको बताए । उनले अहिले मानवअधिकार समुदायको आवाज मधुर भएको उल्लेख गर्दै संक्रमणकालिन न्यायका संयन्त्र कमजोर भएकाले सशस्त्र द्वन्द्वका पीडितले अझै न्याय नपाएको उल्लेख गर्दै मानिसहरूको आर्थिक अवस्था बलियो बनाउन सकेमा मात्र हिंसाका घटनामा कमी आउने भएकाले सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा मानव अधिकार सञ्जाल काभ्रेका संयोजक भोजराज तिमल्सिनाले जिल्लामा महिला र बालबालिकाको सवाल मानव अधिकारका मुख्य सवालका रुपमा रहेको उल्लेख गर्दै समाजमा जातिय विभेद, बालविवाह, बलात्कार, हिंसा र दुव्र्यवहारका घटना बढ्दो रहेको उल्लेख गरे । सन् २०२५ को ६ महिनामा मानवअधिकार उल्लंघनका ६० र घरेलु हिंसाका ५३ ओटा गरी १ सय १३ ओटा घटना इन्सेकमा अभिलेख भएको जानकारी दिए । यस अवधिमा जबरजस्ती करणीका १६, बालविवाह, बहुविवाह, जातिय विभेद र एसिड प्रहारका १/१, ज्यान मार्ने उद्योगका ११, अभद्र व्यवहारका २८, कर्तव्य ज्यान सम्वन्धी ३, कुटपिट र अंगभंगका ३, आपराधिक उपद्र्धवका ३, जर्वजस्ती करणी उद्योगका ११ घटनाहरू सार्वजनिक भएको तिमल्सिनाले जानकारी दिए ।
त्यसैगरी द्वन्द्वपीडित पूर्णिमाया लामाले आफ्नो पति अर्जुन लामालाई हत्या गरेको यत्रो समय बित्दा पनि न्याय नपाएको उल्लेख गरिन् । सर्बोच्च अदालतले घटनाको अनुसन्धान गर भन्दा पनि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान नै नगर्ने, अदालतले पूर्ण पाठ नै नदिने कुरा राम्रो नभएको उल्लेख गर्दै अझै न्यायको आश नमरेको बताइन । द्वन्द्वपीडित मनकुमारी रञ्जितले शान्ति प्रक्रियामा समेत पीडितहरूको बेवास्ता गरिएको उल्लेख गर्दै मानवअधिकार रक्षकहरूले द्वन्द्वपीडितको घरमा पुगेर उनीहरूको अवस्थाका विषयमा अध्ययन गर्न जोड दिइन् । धेरै पीडित महिला घरमा बस्न नसकेर माइतमा गएर बसेको, धेरै पटक बेहोस भएको र धेरैले मानसिक स्वास्थ्यको औषधी समेत खानु परेको उल्लेख गरिन् ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका सेवा केन्द्रकी रंजिता कार्कीले हिंसा पीडित महिलाहरूलाई न्याय दिनका लागि संघसंस्थाहरूले सहयोगी भूमिका निभाउनुपर्ने उल्लेख गरिन् । माइती नेपाल काभ्रेकी कोअर्डिनेटर गायत्री गौतमले अहिले ग्रामिणस्तरमा सचेतनाका कार्यक्रम आवश्यक भएको बताइन । उनले नेपालको बर्तमान अवस्थाका कारण वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताले महिला र बालवालिका बेचविखनको जोखिममा रहेको उल्लेख गरिन ।
महिला अधिकारकर्मी कल्पना विश्वकर्माले महिलाहरूले सहज ढंगबाट नागरिकता प्राप्त गर्न नसकेका कारण हिंसामा परेको उल्लेख गरिन । अधिकारकर्मी निर्मला काफ्लेले हिंसापीडित महिलालाई सुरक्षित गृहमा राखेर मात्र नहुने उल्लेख गर्दै महिलाका मानव अधिकारका सवाल घटना संख्याको आधारमा मात्र विश्लेषण गर्न नहुने बताइन ।
पत्रकार राजकुमार पराजुलीले अघिल्ला वर्षका घटनाहरू अध्ययन गरेर घटना संकलन मात्र नगरी सचेतनाका कार्यक्रम संचालन गर्न सुझाव दिए । गैरसरकारी संस्था महासंघ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले गरेकी थिइन् ।
