
काभ्रे । अरनिको सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका वडा नं. १३ स्थित साँगा चोकमा सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम गर्ने उद्देश्यले लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच अभियान सञ्चालन गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा र शीर मेमोरियल अस्पताल बनेपा तथा बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा सार्वजनिक सवारी चालकहरूलाई लक्षित गरी चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए ।
उनका अनुसार कुल ४० जना सवारी चालकहरूको ला.प.से. परीक्षण गरिएकोमा ९ जना चालकहरूले लागू पदार्थ सेवन गरेको पुष्टि भएको जनाएको छ । ती चालकहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ ।
ट्राफिक प्रहरीका अनुसार यस्ता अभियानले सडक अनुशासन कायम गर्ने, दुर्घटना न्युनिकरण गर्ने तथा सवारी चालकहरूमा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
