ट्रेण्डिङ

ब्रह्मकुमारीद्वारा देशव्यापी रक्तदान महाअभियान, काभ्रेबाट १५७ पिन्ट रगत संकलन

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (११ महिना अघि)
  • ५१९ पटक पढिएको
ब्रह्मकुमारीद्वारा देशव्यापी रक्तदान महाअभियान, काभ्रेबाट १५७ पिन्ट रगत संकलन

काभ्रे । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको समाज सेवा प्रभागले विश्व बन्धुत्व दिवस र राजयोगिनी दादी प्रकाशमणीको १८औं स्मृति दिवस को अवसरमा बृहत् रक्तदान महाअभियान २०८२ सुरु गरेको छ। यस अभियानअन्तर्गत नेपालका प्रमुख सहरहरूमा एकैसाथ रक्तदान कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
काभ्रे जिल्लामा पनि यस अभियानको महत्त्वपूर्ण हिस्साको रूपमा बनेपा र पनौतीमा रक्तदान कार्यक्रम सम्पन्न भएका छन्। बनेपामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो भने पनौतीमा पनौती वडा नं. ७ का अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। यी दुई स्थानबाट कुल १५७ पिन्ट रगत संकलन भएको छ।
ब्रह्मकुमारीले नेपाल, भारतसहित एसियाका विभिन्न देशहरूमा चार दिनसम्म यो रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ। यसबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ, जसलाई गिनिज बुक अफ वर्ल्ड रेडक्रसमा समावेश गर्ने योजना पनि छ।
रक्तदान कार्यक्रममा विभिन्न पेसा, व्यवसाय र सामाजिक क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिता थियो। ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नियमित रूपमा समाजसेवा, जनचेतना र मानव कल्याणका लागि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। रक्तदानका साथै योग तथा आत्मपरिवर्तनसम्बन्धी विविध कार्यक्रमहरू पनि संस्थाले सञ्चालन गर्दै आएको छ।
यस अभियानले समाजमा मानव कल्याण र विश्व बन्धुत्वको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।