ट्रेण्डिङ

सन् २०२६ जनवरी १ मा बृहत् साइकल यात्रा हुने

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ कार्तिक १२, बुधबार (८ महिना अघि)
  • २८२ पटक पढिएको
सन् २०२६ जनवरी १ मा बृहत् साइकल यात्रा हुने

काभ्रे । साइकल कल्च कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा बृहत् साइकल यात्रा आयोजना गर्ने भएको छ ।
साइकल यात्रा पाँचथर चिवाभञ्याङबाट सुरु भई बैतडी झुलाघाट पुगेर अन्त्य गरिने साइकल यात्राको नेतृत्व क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाले गर्ने छन् । सन् २०२० मा उनको पिसाव थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले पहिलेकै सक्रिय साइक्लिङलाई निरन्तरता दिएका थिए । क्यान्सर उपचार पश्चात पनि साइकल प्रतियोगिताहरु जित्दै आइरहेका लामा अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा समेत सहभागी भइरहेका छन् ।
अफ्रिकामा आयोजित संसारकै सबैभन्दा विशाल साइकल प्रतियोगिता Cape Epic–२०२५ मा सहभागी भएका उनी नेपालका उच्च हिमालहरुमा साइक्लिङ दुर गर्ने एक अगुवा साइक्लिस्ट हुन् । सन् २०१६ देखि निरन्तर साइकल प्रतियोगिताहरुमा सहभागी उनी स्यान्सरसँग सामना गर्दै राष्ट्रिय प्रतियोगिताहरुदेखि Yak Attack जस्ता साहसिक अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा विजयी बन्दै आएका छन् ।
स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकलमार्फत सक्रिय सकारात्मक जीवनशैली अपनाई आएकी कविता चित्रकार हर्क लामासँगै उक्त साइकल यात्रामा सहभागी हुने छिन् । उनले संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता Yak Attack–२०२५ मा सहभागी भइ अन्नपूर्ण सर्किट थोरोड्ला पास यात्रा सम्पन्न गरेकी थिइन् । नेपाली महिला साइकल समुदाय माझ कविता चित्रकार एक नमुना साहसिक नवसाइक्लिस्टको रुपमा परिचित छिन् । जन्मदिने आमा र दिदी दुवै उनको काखमै क्यान्सरका कारण बितेको यथार्थ भोगेकी कविताले आफू पनि क्यान्सरको अन्तिम स्टेजमा पुगेको यथार्व सामना गर्न असमर्थकै बनेको अवस्थामा साइकलको सहाराबाट नयां जीवन पाएको बताउँदै आएकी छिन् । साइकल मार्फत कविताको जीवनमा देखिएको परिवर्तनबाट उनको उपचारमा संलग्न चिकित्सकहरु समेत उत्साहित छन् । नियमित साइक्लिङलाई नै जीवनको सबैभन्दा अमूल्य जीवनशैली बताउदै आएकी उनी यस यात्रामार्फत क्यान्सरसँग संघर्षरत मानिसलाई सक्दो सहयोग जुटाउन उत्सुकताका साथ सहभागी हुँदै छिन् । बाँकी जीवन आफूमा जस्तै अरुमा पनि सकारात्मक उर्जा भर्न उनी यस साइक्लिङ यात्राप्रति समर्पित छिन् ।
कूल १८०० किमी दूरी पार गर्ने यस साइकल यात्रामा ५२००० मिटर elevation gain गरिने छ । त्यस क्रममा मेचीदेखि महाकालीका साइकलप्रेमी तथा सहयोगीहरु यात्रामा जोडिने छन् । एक महिनासम्म जारी रहने यस साइकल यात्रामा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने छ । कतिपय स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने छ । स्थानीय संघसस्थाले आफ्नो क्षेत्रमा विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्ने छन् । जो कोहि व्यक्ति सहभागी भई यस यात्रालाई उत्सवमयी बनाउन र आफ्नो गक्ष्य अनुसार कोषमा मुष्ठीदान गर्न सक्ने छन् ।
साइकल यात्राबाट प्राप्त रकम क्यान्सर विमारी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने छ । नेपालमा वार्षिक २२ हजार भन्दा बढी क्यान्सर रोगी थपिन्छन् । करिब १५ हजार नागरिक वर्सेनी क्यान्सरबाट मृत्यु वरण गर्छन् । जबकि अधिकांश क्यासर रोकथाम वा उपचार योग्य मानिन्छ । यद्यपि क्यान्सरले वर्सेनी यति ठूलो संख्यामा मानिसको ज्यान लिइरहेको देखिन्छ । भारी उपचार खर्चले धेरै नेपाली गरीबीतर्फ धकेलिन्छन । नेपालमा क्यान्सर पीडितले आवश्यक हेरचाह पाउन कठिनै देखिन्छ । यसर्थ, यस साइकल यात्रा नेपालका लागि नमुना कार्य बन्न सक्छ । यस यात्राले सचेतनाका साथसाथै नीति निर्माणमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ ।