ट्रेण्डिङ

अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो, सडक पूर्ण रुपमा अवरुद्ध

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ कार्तिक १४, शुक्रबार (८ महिना अघि)
  • २६८ पटक पढिएको
अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो, सडक पूर्ण रुपमा अवरुद्ध

काभ्रे । ‘मोन्था’ चक्रवात भित्रिएसँगै अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा ठूलो पहिरो खसेका छन् भने नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदो माटोले सडक ढाकेको छ । पूर्व जाने तथा पूर्वबाट आउने सयौं सवारी साधन र यात्रुहरू अलपत्र परेका छन् । सडक खुलाउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न प्रहरीले अनुरोध गरेको छ ।
निरन्तर वर्षा भइरहेको कारण तत्कालका लागि पहिरो हटाउने कार्य रोकिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्गको काभ्रे खण्डमा अवरोध हटाएर सडक सञ्चालन गर्न केही समय लाग्ने बताएको छ ।सुरक्षित यात्राका लागि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् । विशेषगरी पूर्वतर्फ जाने सवारी साधनहरूलाई काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।