
काभ्रे । ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) को संयोजकत्वमा धुलिखेलको हाइडअवे ग्ल्याम्पिङमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको छ ।
मंसिर २५ गते (डिसेम्बर १०) बाट हुने उक्त कार्यशालामा चीनका प्रतिष्ठित उड्डयन विशेषज्ञहरूको टोलीमा GCAC का डिन टियान जु, उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ सहभागी हुने आयोजकले जानकारी दिएका छन् । कार्यशालामा नेपालबाट नेपाल मानव रहित विमान (ड्रोन) संघ UDAAN का अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण UDAAN टीमको पनि सहभागिता समेत रहनेछ।
कार्यक्रमको सुरुवात RC (रिमोट कन्ट्रोल) विमान प्रदर्शनबाट हुनेछ, जसमा विद्यार्थीहरूले नवप्रवर्तन क्षमता र एयरोमोडेलिङ सीप प्रदर्शन गर्नेछन्। त्यसपछि GCAC ले उन्नत UAV प्रणाली, तालिम मापदण्ड, नियामक अभ्यास, औद्योगिक उपयोग र भविष्य सम्भावनाबारे विस्तृत प्रस्तुति दिनेछ।
कार्यक्रमको नेतृत्व ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईले गर्दैछन्। प्राविधिक तथा कार्यक्रम समन्वय अफताब आलम, सञ्चार र सहभागी व्यवस्थापन सचिन सिंह र ओम साह, लजिस्टिक्स रसिदव राजले सम्हालिरहेका छन्। GCAC तर्फ सुजित चौधरी र दीपिका केसीले परियोजना नेतृत्व गर्दैछन्।
कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनमा हाइडअवे ग्ल्याम्पिङका सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष योगदान दिएका छन्। GCAC टोली नेपाल भ्रमणको क्रममा काठमाडौँ र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरू अवलोकन गरी विपद् व्यवस्थापन, उद्धार, खोज तथा आगो नियन्त्रणमा ड्रोन प्रयोगको अनुभव साझा गर्नेछ।
ड्रोन हब नेपालका अनुसार, कार्यशालाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय ज्ञान आदान–प्रदानमार्फत नेपालको UAV इकोसिस्टम सुदृढ गर्नु, युवा इन्जिनियरलाई प्रेरित गर्नु र विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण तथा विकास परियोजनामा जिम्मेवार ड्रोन प्रयोग प्रवर्द्धन गर्नु हो।
विद्यार्थी–केन्द्रित नवप्रवर्तन प्रदर्शन, अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता र नेपाल मानव रहित विमान (ड्रोन) संघ UDAAN टीमको उपस्थिति सहित यो कार्यशाला नेपालका लागि ड्रोन तथा उड्डयन प्रविधिको क्षेत्रमा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।
