
काभ्रे । सशस्त्र प्रहरी बल, नेपालको २५ औँ स्थापना दिवस २०८२ को अवसरमा Quick Impact Project (QIP) अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रे र चौरीदेउराली गाउँपालिका–५, विरुवाको सहकार्यमा ऐतिहासिक रोटरी धारो चैातारी पुनर्निर्माण तथा प्रतिक्षालय निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ।

जीर्ण अवस्थामा पुगेको उक्त ऐतिहासिक धारोलाई आधुनिक किसिमबाट पुनर्निर्माण गरिनुका साथै स्थानीयवासीको सुविधालाई मध्यनजर गर्दै प्रतिक्षालयसमेत निर्माण गरिएको हो।
उक्त निर्माण कार्यको उद्घाटन सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले गर्दै सशस्त्र प्रहरी बल, नेपाल शान्ति सुरक्षा कायम गर्न मात्र नभई सामाजिक सेवामा समेत सक्रिय रूपमा क्रियाशील रहँदै आएको बताए। उनले विपद् व्यवस्थापन, उद्धार तथा राहत वितरण, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, साथै जनचेतनामूलक कार्यक्रममार्फत सशस्त्र प्रहरी बल सधैँ जनताको साथमा उभिँदै आएको उल्लेख गरे।

चौरीदेउराली गाउँपालिका–५, का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम वडा अध्यक्षले ऐतिहासिक महत्व बोकेको रोटरी धारो पुनर्निर्माण भएसँगै पानीको सुविधासँगै सार्वजनिक स्थलको संरक्षणमा समेत सहयोग पुगेको भन्दै सशस्त्र प्रहरी बलप्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा चौरीदेउराली गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी तथा सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
