ट्रेण्डिङ

गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड: बेथानचोकको पार्वती माविको हातमा उपाधी

  • अनलाइन काभ्रे
  • / खेलकुद /
  • २०८२ फागुन ३, आईतबार (५ महिना अघि)
  • ४८८ पटक पढिएको
गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड: बेथानचोकको पार्वती माविको हातमा उपाधी

काभ्रे । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले हात पारेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो ।


फागुन १ देखि ३ गतेसम्म पार्वती माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित प्रतियोगितामा छात्रातर्फ आत्मा विकास माध्यमिक विद्यालय प्रथम हुँदा भूमिमाता माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । प्रतियोगितामा छात्रतर्फ कृष्णगोपाल मा.वि. र छात्रातर्फ पार्वती मा.वि तृतीय भए ।
प्रतियोगितामा गाउँपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयले एथलेटिक्स तथा भलिबलविधामा उत्साहजनक सहभागिता जनाएको खेलकुद शाखा प्रमुख प्रमोद तिमल्सिनाले जानकारी दिए ।


प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा राना तिमल्सिनाले विजयी विद्यालय तथा खेलाडीहरूलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष भगवान अधिकारीले राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताल बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै खेलकुदले अनुशासन, टिमवर्क, सहनशीलता र नेतृत्व क्षमता विकास जगाउने उल्लेख गरे । उनले खेलकुद स्पर्धाले स्थानीय स्तरबाटै राष्ट्रिय स्तरसम्म पुग्ने प्रतिभाहरू उत्पादन गर्ने अवसर प्रदान हुने भएकाले सहभागी विद्यालयका खेलाडीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिए ।


त्यस्तै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सहभागितामा नै सफलताको आधार हुन्छ । यस प्रतियोगितामा देखिएको उत्साह र प्रतिस्पर्धाले हामीलाई गर्व महसुस गराएको छ । छात्रा तथा छात्र दुवै समूहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर हेर्नुपर्छ भन्ने मान्यतालाई यसले पुष्टि गरेको बताइन् । भविष्यमा पनि यस्ता प्रतियोगितालाई थप व्यवस्थित र उत्साहजनक बनाउन गाउँपालिका प्रतिबद्ध जनाइन् ।


समापन कार्यक्रममा वडा अध्यक्षहरू पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा पार्वती क्याम्पसका प्रमुख राजेश तिमल्सिन लगायतको उपस्थिति रहेको थियो । उनीहरूले खेलाडीहरूको प्रदर्शनको प्रशंसा गर्दै खेलकुद विकासमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए ।
यस वर्ष प्रतियागिताको व्यवस्थापन पार्वती माध्यमिक विद्यालयले गरेको थियो । कार्यक्रममा व्यवस्थापन समिति संयोजकका रुपमा पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द तिमल्सिनाले प्रतियोगिताले बेथानचोक गाउँपालिकामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै विद्यार्थीहरूमा अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गरेको बताए ।