
|फाइल फोटो
काभ्रे । प्रत्येक वर्ष जेठ पूर्णिमाका दिन हुने पनौतीको ‘ज्याः पुन्ही’ जात्रा शुरु भइसकेको छ । तीन दिनसम्म चल्ने उक्त जात्रामा अनौठो परम्परा छ । जात्रामा यौनिकता झल्काउने गरी उन्मत भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच सम्भोग गराइन्छ ।
लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ । उन्मत्त भैरवको रथ गन्तव्य स्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीन पटक एक–आपसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ । रथ जुधाउँदा अबिर एक–आपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ । रथ जुधाउने जात्रा हेर्नको लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् ।
किवंदन्ती अनुसार, परापूर्वकालमा महादेवले कृष्णको चरित्र जान्न एक हजार आठ गोपिनी मध्येबाट एक जना दिन आग्रह गरेका थिए । कृष्णले आफू नभएको कोठाबाट लैजान भनेपनि सबै कोठामा कृष्ण रहेको पाए । कैलाशमा गएर पार्वतीलाई सो कुरा बताउँदा उनले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् । पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन् । सो रूप देखेर महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्तरूपमा लुकेर बसेको पावर्तीले थाहा पाएर ६४ योगिनी पार्वतीले त्रिवेणीवरपर महादेवको प्रतिक्षा गरिरहिन् ।
त्यसैबेला महादेव पनि उन्मत्तभैरवको रूप धारण गरी बाहिर निस्के । भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भागेकी थिइन् । भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्तभैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आएको विश्वास गरिन्छ । यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरेपछि महादेव वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरेका थिए ।
इन्द्रेश्वर महादेव मन्दिरका पुजारी रमेश जंगमका अनुसार जात्रा १४ सय ४१ बर्ष पुरानो हो । राजा शिवदेव मल्लको पालादेखि चल्दै आएको जात्रामा यौनिकता झल्कने उनले बताए । प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित जात्रा भएकाले बेलुका मात्रै सञ्चालन गर्ने गरिएको छ । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो तर, पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । स्थानीय मुख्य पर्व जनाउँदै जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू) हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा ‘न्ह्यायकेगू’ भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाईं सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकिएमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास रहँदै आएको छ ।
अर्को रोचक प्रसङ्ग जात्रामा चिउरी र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम रहेको छ ।
किंवदन्तीअनुसार राजा प्रताप मल्लले विसं १६२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता (लिलावती) र रोशी खोला (रुद्रावती) बाहेक पद्यमावती नदी गुप्तरुपमा बह्मायणी मन्दिरको मुनिबाट दूध बगिरहेको मान्यता रहेको छ ।
ज्यहा पुन्हीपछि पनौतीमा यो बर्षका जात्रा सकिन्छन् । अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गरेका छन् । यस जात्रामा छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुरदेखिका मानिसहरु जात्रा हेर्न आउने गरेका छन् ।
