ट्रेण्डिङ

१२ वर्षपछि आज बनेपामा ऐतिहासिक नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) देवी नाच

  • अनलाइन काभ्रे
  • / कला/संस्कृति /
  • २०८२ कार्तिक २०, बिहिबार (८ महिना अघि)
  • ४८८ पटक पढिएको
१२ वर्षपछि आज बनेपामा ऐतिहासिक नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) देवी नाच

काभ्रे । धार्मिक ऐतिहासिक नरदेवी श्री श्वेतकाली (ङतभुलु अजिमा) देवी नाच १२ वर्षपछि आज बनेपामा भएको छ ।
३ दिनसम्म सञ्चालन हुने देवी नाच काठमाडौं महानगरपालिका वडा नं. १८ नरदेवी (परम्परागत ङत त्वाः) मा अवस्थित नरदेवी श्री श्वेतकाली माई (ङतभुलु अजिमा) बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, बनेपावासीहरूले बाजागाजा सहित स्वागत गरेका हुन् ।

देशकै एक महत्वपूर्ण धार्मिक धरोहरको रूपमा चिनिन्छ। विजया दशमीका अवसरमा राष्ट्राध्यक्षबाट दर्शन सवारी हुने यस शक्तिपीठलाई काठमाडौंको प्रमुख देवीस्थानको रूपमा मानिन्छ। सदियौंदेखि निरन्तर सञ्चालन हुँदै आएको श्री श्वेतकाली देवीनाच राष्ट्रले संरक्षित एक जीवन्त धार्मिक तथा सांस्कृतिक सम्पदा हो।
धार्मिक परम्परा अनुसार, प्रत्येक वर्ष पिशाच चतुर्दशीका दिन नरदेवी डबलीमा श्री श्वेतकाली देवीनाच आयोजना हुँदै आएको छ। यस्तै, प्रत्येक १२–१२ वर्षमा विशेष “१२ वर्षे देवीनाच पर्व” विभिन्न ऐतिहासिक डबलीहरूमा आयोजना गर्ने परम्परा रहिआएको छ । जसमा नरदेवीको डबलीसँगै हनुमानढोका दरबार, तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक, कालभैरव पछाडिको डबली, ललितपुर, कीर्तिपुर, भक्तपुर दरबार क्षेत्र तथा बनेपाको लायकु डबली प्रमुख स्थल मानिन्छन्।


आजबाट सुरु भएको यो देवी नाच कार्तिक २२ गतेसम्म बनेपाको लायकु डबलीमा हुने बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए । प्रमुख शाक्यका अनुसार श्री श्वेतकाली १२ वर्षे देवीनाच पर्व जात्रा व्यवस्थापन समितिको पहलमा तथा परम्परागत नाचगुठी र ङत त्वाः समाजको नेतृत्वमा सम्पन्न हुने गरेको बताउँदै असंख्य भक्तजनको उपस्थितिमा यो धार्मिक एवं सांस्कृतिक पर्व मनाउने गरेको बताए ।


यो कार्यक्रमको मुख्य उद्देश्य प्राचीन कालदेखि निरन्तर सञ्चालन हुँदै आएको राष्ट्रकै गौरवशाली धार्मिक–सांस्कृतिक परम्परालाई जीवन्त राख्दै यसको संरक्षण, संवर्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो।


धार्मिक विश्वास अनुसार देवीनाचको दर्शन गर्नाले समाजमा व्याप्त नकारात्मक ऊर्जा क्षीण भई सुस्वास्थ्य, सुख–समृद्धि र शान्तिको बास हुने जनविश्वास रहिआएको छ।


आज पहिलो दिन दिउँसो करिब २ बजे भक्तपुरबाट देवीको प्रस्थान भई लायकु गणेशस्थानमा विधिवत पूजा (आखाः) सम्पन्न गरी साँझ ५ बजे बाजागाजासहित मंगलयात्रा हुँदै लायकु डबली प्रवेश गरिनेछ। सोही साँझ ७ बजेदेखि मध्यराति १२ बजेसम्म पहिलो चरणको देवीनाच सम्पन्न गरिनेछ भने दोस्रो दिन बिहान ७ बजे श्री करुणामय (सुथःमाजु) को नाचसँगै दोस्रो चरणको नाच हुनेछ भने साँझ ८ बजेभित्र सम्पूर्ण नाच कार्य सम्पन्न गरी आखाःमा प्रवेश र विसर्जन गरिनेछ ।

अन्तिम दिन बिहान डबली तथा आखाःमा विधिवत पूजा र प्रसाद ग्रहण गरिसकेपछि दिउँसो करिब १ बजे भक्तपुर हुँदै देवीलाई काठमाडौं नरदेवी द्यःछेंमा भित्र्याइने छ ।