ट्रेण्डिङ

भुम्लु गाउँपालिकाबाट भविष्यमा राष्ट्रियस्तरका खेलाडी तयार हुनेछ: उपाध्यक्ष तामाङ

  • अनलाइन काभ्रे
  • / खेलकुद /
  • २०८२ पौष २०, आईतबार (६ महिना अघि)
  • ७४१ पटक पढिएको
भुम्लु गाउँपालिकाबाट भविष्यमा राष्ट्रियस्तरका खेलाडी तयार हुनेछ: उपाध्यक्ष तामाङ

काभ्रे । भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय तह स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडीहरूलाई गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल र उपाध्यक्ष जितेन्द्रमान तामाङ लगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै उपाध्यक्ष तामाङले भुम्लुमा खेलकुदलाई निरन्तर अगाडी बढाउने बताए । तामाङले पालिकाको तर्फबाट खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा भुम्लुमा खेलक्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडीहरू तयार हुनेमा आफू विश्वस्त रहेको बताए ।
प्रतियोगितामा श्री सेतीदेवी मावि भुम्लु- १ रिठ्ठेले ११ स्वर्ण, २ रजत, ४ कास्य सहित प्रथम स्थान हासिल गरेका छन् भने श्री सेतीदेवी मावि भुम्लु- ४ याक्पाले ७ स्वर्ण, २ कास्य सहित द्वितीय र श्री अरुणोदय मावि भुम्लु- २ सिम्थलीले १ स्वर्ण, २ रजत, ३ कास्य सहित तृतीय स्थान हासिल गरेका छन् ।
पालिकाका विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा १० विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, हाइ जम्प, लंग जम्प, ज्याब्लीङ थ्रो, दौड, योगा लगायतका खेलहरु समावेश गरिएको थियो ।


सोही अवसरमा भुम्लु गाउँपालिका स्वास्थ्य शाखाको आयोजना, रेडक्रस उपशाखा भुम्लुको समन्वय, नेपाल रेडक्रस सोसाइटी कभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा  संचालित एक दिने बृहत रक्तदान कार्यक्रममा ६५ पिन्ट रक्त संकलन भएको भुम्लु स्वास्थ्य शाखाले जानकारी दिएको छ ।