
काभ्रे । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले एसईई परीक्षामा सहभागी विद्यार्थीहरूलाई लक्षित गरि स्वस्थ प्रतिस्पर्धा, अनुशासन र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले “सफल जीवनको लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने सन्देशलाई आत्मसात गर्दै ” छैठौं ज्ञानकुञ्ज रोड रेस-२०८३” आयोजना गर्न लागिएको छ ।
आज भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले यही वैशाख २६ गते छैठौं संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता हुने जानकारी दिए ।
वैद्यले माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्ने उद्देश्यले रोड रेस प्रतियोगिता गर्ने गरेको बताए । यस प्रतियोगितामा छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुनेछ । ७६ जनाबाट सुरु गरिएको रोड रेस पाँचौं संस्करणसम्म आइपुग्दा २ सय ५० जना विद्यार्थीहरू सहभागिता जनाएको र अब हुने प्रतियोगितामा अझ बढी विद्यार्थीहरूको सहभागी हुने अपेक्षा आयोजकले राखेका छन ।
छात्रहरुको ७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगी पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
