ट्रेण्डिङ

ललितपुरमा एमालेका निर्वाचित वडा सदस्य कांग्रेसमा प्रवेश

  • अनलाइन काभ्रे
  • / राजनीति /
  • २०८२ माघ १९, सोमबार (५ महिना अघि)
  • २८५ पटक पढिएको
ललितपुरमा एमालेका निर्वाचित  वडा सदस्य कांग्रेसमा प्रवेश

ललितपुर । गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य रमेश बिष्टसहित तीन जना नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेहरूमा नेकपा एमालेका पूर्व जिल्ला सदस्यसमेत रहेका रमेश बिष्ट, विसंखु नारायणका वडा सदस्य प्रविण कुमार बिष्ट र रञ्जन बिष्ट रहेका छन्।
कांग्रेस प्रवेश गरेलगत्तै उनीहरूलाई चुनाव परिचालन समितिको सदस्यमा मनोनयन गरिएको नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दरमान थिङले जानकारी दिए ।
उनीहरूलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणाले निर्वाचनपछि पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे। राणाले नेपाली कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने घोषणासहित कांग्रेस चुनावमा होमिएको उल्लेख गर्दै निर्वाचनपछिसमेत नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरे ।
ललितपुर क्षेत्र नम्बर १ अन्तर्गतका २२ वटै वडा तथा स्थानीय तहमा कांग्रेसले अघिल्लो निर्वाचनमा समेत जित हासिल गरिसकेको स्मरण गराउँदै राणाले यस क्षेत्र जित्न कुनै समस्या नरहेको दाबी गरे ।
पार्टी प्रवेशपछि बोल्दै वडा सदस्य रमेश बिष्टले वामपन्थी दलहरूमा बढ्दो संगठनात्मक विचलन, आन्तरिक असन्तुलन र जनताप्रतिको उत्तरदायित्व कमजोर बन्दै गएकाले आफूहरूले विकल्प खोज्न बाध्य भएको बताए । उहाँले नेपाली कांग्रेसको लोकतान्त्रिक कार्यशैली, विकासमुखी दृष्टिकोण र जनतासँग प्रत्यक्ष जोडिने संस्कृतिले आफूहरूलाई आकर्षित गरेको स्पष्ट पारे ।
यसैबीच आइतबार कोन्ज्योसोम गाउँपालिका–नल्लुमा समेत नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका पूर्व तथा सक्रिय नेता–कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस प्रवेश गर्नेहरूमा नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, प्रताप स्याङ्ताङ तथा नेकपा माओवादीका सक्रिय सदस्य साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ रहेका छन्।
लगातारको पार्टी प्रवेशले ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको संगठन थप सुदृढ बन्दै गएको र चुनावी प्रतिस्पर्धामा कांग्रेसको स्थिति अझ बलियो बन्दै गएको  छ।