
काभ्रे । भुम्लु गाउँपालिका वडा नं. १ सापिङमा पुगेर त्यहाँका स्थानीय जनताहरुसंगको भेटघाटपछि काभ्रे क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बसुन्धरा हुँमागाईले प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराएर पठाएपछि पार्टीको निर्देशन र जनताले राखेको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
सोमवार काभ्रेपलाञ्चोकको कोशीपारीस्थित भुम्लु गाउँपालिका वडा नं. १ सापिङको जनताहरुसंगको भेटघाट पछिको कार्यक्रममा बोल्दै उनले आफु सधैं जनताको साथमा रहेर विकास निर्माण र समृद्ध समाज निर्माणको महाअभियानमा पार्टी र जनताको साथमा रहेर काम गर्ने बताए । हुमागाईंले फागुन २१ गतेसम्म मलाई विजयी गराउने तपाई जनताको जिम्मा, त्यसपछि मलाई प्रतिनिधि सभा सदस्य बनाएपछिका समयको अवस्थालाई जिम्मा लिएर अगाडी बढ्ने बताए ।
सो अवसरमा उनले विगतमा आफु २१ वर्षको उमेरमा तत्कालिन कलाँती भूमेडाँडा गाविस अध्यक्षको रुपमा निर्वाचित भएर गरेको कामको मुल्याङन गरेर त्यस वेलाका जिविसबाट पटक पटक पुरस्कृति भएको र बागमती प्रदेशसभा सदस्य हुँदै प्रदेश कृषि मन्त्री भएर काम गर्दा आफुले गरेको पहलकदमीको उपलब्धीहरुले समेत जनताको सामु गरेका र अगाडी सारेका योजनाले पाएको सफलता जनताको हितमा गरेको कामको प्रतिफल बनेको बताए । आगामी दिनमा विकास निर्माणदेखि राम्रो कानुन बनाएर देशलाई समृद्धि बनाउनका लागि आफुले खेल्ने भूमिकामा कुनै कमि आउन नदिने प्रतिबद्धता जाहेर गरे ।
आफुले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपछि ईमान्दारीपूर्वक काम गर्ने र हरेक हप्ताको एक दिन एउटा वडामा गएर श्रम गर्ने र त्यसको लागि सम्बन्धित वडा र पार्टी कमिटीसंगको समन्वयमा सो अभियान अगाडी बढाउँदै कामको हिसाबले जनतासंगै नजिक भएर जनताको हितमा काम गर्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रदेखि बागमती प्रदेश र जिल्ला एवं पालिकास्तरका नेता कार्यकर्ताहरुको उल्लेख सहभागिता रहेको थियो ।
