ट्रेण्डिङ

राष्ट्रिय कृषि नेपाल कम्पनी लि. (आर.के.एन.सी.एल.) उद्घाटन

‘एक नगर एक चिस्यान केन्द्र’ बनाउनुपर्छः सांसद भण्डारी
राष्ट्रिय कृषि नेपाल कम्पनी लि. (आर.के.एन.सी.एल.) उद्घाटन

काभ्रे । राष्ट्रिय कृषि नेपाल कम्पनी लि. (आर.के.एन.सी.एल.) को आज (शनिबार) काभ्रेपलाञ्चोक क्षेत्र नं. २ प्रतिनिधि सभा बदनकुमार भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद भण्डारीले किसानका समस्याहरु र चुनौतीहरु धेरै रहेको बताउँदै कृषिमा रुपान्तरणको आवश्यकता रहेको बताए । किसान निर्वाहमुखी कृषिबाट माथि उठ्न सके मात्र कृषि क्षेत्रमा परिवर्तन सम्भव रहेको बताए । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर काभ्रेका १३ वटै पालिकाका उत्पादनलाई बजारीकरण गर्न फूड बैंकले काम गर्नुपर्ने सुझाव थिए । उनले ‘एक नगर एक चिस्यान केन्द्र’ बनाउने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले किसानका समस्या, चुनौतीहरु कहिले पनि राज्यले नसुनेको गुनासो गर्दै अहिलेको सरकारले भुईंमान्छेसम्मका लागि बजेट विनियोजन गर्न आग्रह गरे । किसानलाई सही मार्गमा ल्याउन आर.के.एन.सी.एल. फुड बैंकले गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कम्पनीका अध्यक्ष विशाल हुमागाईंले फुड बैंकले दीर्घकालिन व्यवसायको सुरुवात गरेको बताउँदै यसको नीतिगत व्यवस्थापन यसको मातृ कम्पनीले गर्ने बताए । उनले १ हजार जना पूर्णकालिन र ५ हजार जनालाई पार्ट टाइमको रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरे । किसानको आम्दानी बढाउने र उपभोक्ताको खर्च घटाउने लक्ष्यसहित सञ्चालन भएको यस कम्पनीले ओजनवास प्रणालीको विकास गर्ने बताए । उनले विद्यालय र समाजको लागि कृषि साक्षरता कार्यक्रम समेत कम्पनीले समेटेको जानकारी गराए ।
हुमागाईंले कृषि क्षेत्रमा लागेका प्रत्येक किसानहरुको आर्थिक गति बढाउनको लागि राज्यले नीतिगत सहजीकरण गरिदिन सांसद भण्डारीलाई आग्रह गरेका छन् भने प्रत्येक किसान समूहलाई स्थानीय सरकारले वार्षिक १५ हजार रकम उपलब्ध गराउन सके किसानहरुलाई अझ कृषि क्षेत्रमा उत्पादनको लागि सहज हुने बताए ।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले कृषिमा लगानी आजको समयमा निकै चुनौतीपूर्ण रहेको बताए । किसान समूह फगत अनुदानका लागि मात्र बनेको र अनुदानपछि ति समूहहरु सुस्ताउने गरेको बताए । आर.के.एन.सी.एल. ले ल्याएको किसान समूह अवधारणालाई सहकार्य गर्दै अगाडि बढ्न पनौती नगरपालिका प्रतिबद्ध रहेको बताए ।
त्यस्तै बनेपा नगरपालिकाका नगर उपप्रमुख विमला सापकोटाले कृषिमा निर्भर भएका कृषकहरुलाई माथि उठ्नको लागि आर.के.एन.सी.एल. बाट टेवा पुग्ने बताइन् । उत्पादन भएका तरकारी, फलफूललाई बजारसम्म पु¥याउन स्थानीय सरकारले सहयोग गर्नुपर्छ । बनेपामा बन्दै गरेको मल्टि च्याम्बर (चिस्यान केन्द्र) तर्फ पनि सरकारलाई ध्यानाकर्षण गराइन् ।
सोही अवसरमा कृषकहरुको सहजता र सहकारीसँग किसान जोडिन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत र कम्पनीका अध्यक्ष विशाल हुमागाईंबीच सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरिएको थियो ।


कार्यक्रममा त्रिवेणी गुरुकुलका वटुकहरुबाट स्वस्तिवाचन गरिएको थियो । कम्पनीको अध्यक्ष विशाल हुमागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङ, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक आलोक बस्नेत, विभिन्ने संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।