
काभ्रे । नेवाः राष्ट्रिय पत्रकार दबु काभ्रे शाखाको आयोजनामा आइतबार बनेपामा एक दिवसीय पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बनेपा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले मानिसको क्षमता विकास गर्नको लागि लेखन पद्धति निकै आवश्यक रहेको बताइन् । एकदिने तालिमबाट पनि धेरै सिक्न सकिन्छ। जन्मेदेखी कोही कसैले पनि सबै सिकेर आएको हुँदैन, हामीले नमरुन्जेल सिक्नुपर्छ ।

राज्यको चौथो अंग पत्रकारिता भनिएता पनि पत्रकारितालाई राज्यले सम्मानित स्थानमा राखेको छैन । नेवार समुदाय पछि पर्नुको कारण हामी आफैं अघि नसरेर हो भन्दै वडा अध्यक्ष मानन्धरले हामी अगाडी बढ्न आफ्नै समुदायका नागरिकहरूले चासो दिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापण मगरले अहिलेको पत्रकारिता चुनौतीपूर्ण पेशा रहेको बताउँदै नेवाः राष्ट्रिय पत्रकार दबुमा उठेका मुद्धाहरू फोनिजले पत्रकार महासंघसम्म पुर्याउन सहकार्यको भूमिका निभाउने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रमका अध्यक्षता गर्दै दबुका अध्यक्ष शम्भुलाल श्रेष्ठले हरेक क्षेत्रमा नेवारहरू आबद्ध छन् तर अगाडि देखिनेगरी काम गर्न नसकिरहेको अवस्थामा क्षमता विकासको लागि यस्ता तालिमहरूको आवश्यक छ । एउटा पत्रकारिता गर्ने व्यक्तिले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्नको लागि समय सापेक्ष यस्ताखाले तालिमहरूको भइरहनुपर्ने बताए ।
कार्यक्रममा विशेष अतिथि वरिष्ठ साहित्यकार मोहन दुवाल, नेवा: राष्ट्रिय पत्रकार दबु बागमती प्रदेशका सहसचिव विश्वनाथ ताम्राकार, केन्द्रीय सहसचिव विजयराम कर्माचार्य, सञ्चारकर्मी प्रल्हाद शर्मा हुमागाई, रमेशप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो भने संस्थाका सचिव दिलिप श्रेष्ठले सञ्चालन गरेका थिए । तालिममा २० जनालाई प्रशिक्षक केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र महासचिव कृष्णकाजी (केके) मानन्धरद्वारा प्रशिक्षण गरिएको थियो ।

उहाँ अनलाइन काभ्रे डटकमका सञ्चालक तथा संवाददाता हुनुहुन्छ ।
