
काभ्रे । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजना तथा पाँचखाल नगरपालिकाको समन्वयमा डेंगी रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा लामखुट्टेको बासस्थान पहिचान, लार्भा खोजी एवं नष्ट अभियान सञ्चालन गरिएको छ ।
अभियानमा स्थानीयवासी, स्वास्थ्यकर्मी, विभिन्न वडाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिलगायतको सहभागितामा डेंगी रोगबाट बच्ने उपायबारे जनचेतना फैलाउँदै विभिन्न सन्देशमूलक प्लेकार्ड तथा ब्यानरसहित ¥याली निकालिएको थियो । सहभागीहरूले घर तथा वरपरको वातावरण सफा राख्न, लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान पहिचान गर्न र त्यस्ता स्थानमा पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरिएको थियो ।

झाडी सफा गर्ने, पुराना टायर तथा अन्य सामग्री राखिएका स्थानको सरसफाइ गर्ने र लामखुट्टेको सम्भावित बासस्थानमा रहेका लार्भा खोजी गरी नष्ट गरिएको थियो । गर्मी तथा वर्षायाममा डेंगीको जोखिम बढ्न सक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिन र लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रहका साथ अभियान सञ्चालन गरिएको थियो ।
जनस्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रे जिल्लामा गत वर्ष २४ जना पुरुष र ३५ जना महिला गरी कुल ५९ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । चालु वर्षको साउन १५ गतेसम्म जिल्लामा ५ जनामा डेंगी संक्रमण पहिचान भएको कार्यालयले जनाएको छ ।
