
काभ्रे । धुलिखेल अस्पतालमा रोकिएको नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम पुनः सुचारु हुने भएको छ।
स्वास्थ्य बीमा बोर्डले बीमा सुविधामा रहेका केही आर्थिक तथा प्राविधिक अस्पष्टताहरू परिमार्जन गरेपछि अस्पतालले पुनः सेवा दिन लागेको हो।
अस्पताल प्रशासनका अनुसार असार ३० गते बीमा बोर्डले आवश्यक परिमार्जन गर्दै भुक्तानीको सुनिश्चितता गरेपछि यो निर्णय लिइएको हो। सोही अनुसार आउँदो २०८३ भदौ १ गतेदेखि अस्पतालको बहिरंग सेवा (OPD) मार्फत बीमा कार्यक्रम पुनः सञ्चालनमा आउनेछ।

बीमा मार्फत उपचार गराउन आउने बिरामीले आफ्नो क्षेत्रको प्रथम सेवा बिन्दु (तोकिएको स्थानीय स्वास्थ्य संस्था) बाट रेफरल पुर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ। पुर्जी नभएमा बीमा अन्तर्गत सेवा नपाउने र सरकारी कार्यालय बिदा हुने दिन (आइतबार लगायतका सार्वजनिक बिदा) मा स्वास्थ्य बीमा सम्बन्धी सेवा उपलब्ध नहुने अस्पतालले जनाएको छ ।
लामो समयको अन्यौलतापछि सेवा पुनः सुरु हुन लागेको हो । धुलिखेल अस्पतालको यो निर्णयले काभ्रे र आसपासका जिल्लाका सर्वसाधारणलाई उपचार गराउन राहत मिल्ने अपेक्षा गरिएको छ।
