ट्रेण्डिङ

सम्पन्न भयो श्री मनकामना साकोसको ३१औं वार्षिक साधारण

  • अनलाइन काभ्रे
  • / अर्थ /
  • २०८३ आश्विन २४, शनिबार (१२ घण्टा अघि)
  • ३२ पटक पढिएको
सम्पन्न भयो श्री मनकामना साकोसको ३१औं वार्षिक साधारण

काभ्रे । काभ्रेको बनेपामा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
असोज २२, २३ र २४ गते विभिन्न चरणमा सञ्चालन गरिएको साधारण सभाको समापन बनेपामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना, विकास र वर्तमान अवस्थाबारे जानकारी गराउँदै २६ जना सदस्यबाट सुरु भएको संस्थाले आफ्नो सेवा विस्तार गर्दै हाल १० हजार ५ सय ४४ जना शेयर सदस्य आबद्ध गराउन सफल भएको जानकारी दिए । आर्थिक वर्ष २०८२÷०८३ सम्मको विवरणअनुसार संस्थाको कुल वासलात दुई अर्ब ३० करोड ५२ लाख ९८ हजार ६ सय ४३ रुपैयाँ पुगेको छ । संस्थामा एक अर्ब ९२ करोड ९६ लाख ८ हजार २ सय २६ रुपैयाँ बचत रहेको छ भने एक अर्ब ६९ करोड ९८ लाख ६५ हजार ७१९ रुपैयाँ ऋण लगानी गरिएको छ ।
त्यसैगरी, संस्थाको शेयर पुँजी १६ करोड २४ लाख १४ हजार ७ सय रुपैयाँ र संस्थागत पुँजी १७ करोड रुपैयाँ रहेको छ । साधारण सभामा सचिव नवराज आचार्यले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष विकास शर्मा तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण दाहाल प्रमुख अतिथि तथा अध्यक्ष गोपालप्रसाद घिमिरे सभापति रहेको समापन कार्यक्रममा संस्थाले विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने सदस्य तथा कर्मचारीलाई सम्मान गरेको थियो । संस्थाका सबै शाखाका उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो भने बाल बचतकर्तालाई पनि प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।
साधारण सभामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । संस्थाकी वरिष्ठ लेखा अधिकृत सृजना पराजुली उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित भएकी थिइन् भने बेथानचोक सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्रका रूपमा सम्मानित भएको थियो ।