
काभ्रे । नसालु पदार्थ खुवाई सर्वसाधारणलाई बेहोस बनाएर नगद तथा सुनका गरगहना लुटपाट गर्ने र चोरीका गरगहना खरिद–बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा लुटपाटमा संलग्न दुई जना र चोरीका सुनका गरगहना खरिद गर्ने दुई जना सुनचाँदी व्यवसायी रहेका छन् । बुधबार (आज) सार्वजनिक गरेको विवरणअनुसार इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले फरार रहेका चारै जनालाई पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया संगिता तामाङ (कार्की) र धुलिखेल नगरपालिका–१ बस्ने ३८ वर्षीय बिरध्वज तामाङ रहेका छन् । संगितालाई बनेपाको चारदोबाटोबाट पक्राउ गरिएको हो भने बिरध्वजलाई प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा धरौटीमा छुटेपछि बनेपा ल्याइएको प्रहरीले जनाएको छ ।
त्यस्तै चोरीका सुनका गरगहना खरिद गरेको आरोपमा दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे बि.क. र नमोबुद्ध नगरपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पक्राउ परेका छन् । घिमिरेलाई भक्तपुरबाट र सुनुवारलाई काभ्रेको खड्पुबाट नियन्त्रणमा लिइएको छ ।
प्रहरी अनुसन्धानअनुसार संगिता र बिरध्वजको संलग्नतामा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा चारवटा लुटपाटका घटना भएका थिए । उनीहरूले सर्वसाधारणलाई विभिन्न बहानामा विश्वास दिलाई फलफूलको जुस, दूध तथा खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाउने र बेहोस भएपछि नगद तथा गरगहना लुट्ने गरेको खुलेको छ ।
बनेपा नगरपालिका–६ मा भएको पहिलो घटनामा उनीहरूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ निवासी ५४ वर्षीय गंगा बहादुर गुरुङलाई फकाएर फ्रुटीमा नसालु पदार्थ मिसाई खुवाई बेहोस भएका गुरुङको साथबाट नगद चार हजार रुपैयाँ र चारवटा राडी लुटिएको थियो । घटनापछि गम्भीर अवस्थामा रहेका गुरुङको शिर मेमोरियल अस्पताल बनेपाको आईसीयूमा चार दिन उपचार गरिएको थियो ।
त्यसैगरी बनेपा नगरपालिका–४ मा बस्दै आएका खानिखोला गाउँपालिका–४ निवासी ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्त बहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो । दुवै जना बेहोस भएपछि कानमा लगाउने सुनका दुई थान रिङ र एक थान सुनको तिलहरी लुटिएको प्रहरीले जनाएको छ । घटनामा घाइते हिरामायाको शिर मेमोरियल अस्पताल र अल्का अस्पताल जावलाखेलमा सात दिन तथा हस्त बहादुरको शिर मेमोरियल अस्पतालमा एक दिन उपचार भएको थियो ।
तेस्रो घटना बनेपा नगरपालिका–३ मा भएको थियो । पनौती नगरपालिका–४ निवासी ५१ वर्षीय हेम बहादुर बस्नेतलाई लेमन जुसमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि सुनको सिक्री, मोबाइल र औँठी लुटिएको थियो ।
त्यस्तै, नमोबुद्ध नगरपालिका–११ निवासी ६७ वर्षीया पञ्च माया तामाङ घरमै बसिरहेको अवस्थामा दुई जना व्यक्तिले खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएका थिए । त्यसपछि उनको कानमा लगाएको एक तोलाको सुनको रिङ लुटेर लगिएको प्रहरीले जनाएको छ ।
लुटिएका गरगहनाको खोजी तथा अनुसन्धानका क्रममा चोरीको सुन खरिद गर्ने व्यवसायीको संलग्नता पनि खुलेको प्रहरीले जनाएको छ । पीडितसँगको समन्वय र प्राप्त प्रमाणका आधारमा गंगा बहादुर गुरुङ तथा हिरामाया जिम्बाका गरगहना मध्यपुर थिमी नगरपालिका–४ चारदोबाटोस्थित जय शिव शक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे बि.क.ले बिल तथा रसिदबिना खरिद गरेको खुलेको छ । त्यस्तै, पञ्च माया तामाङको गरगहना धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालक प्रविन सुनुवारले खरिद गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार संगिता र बिरध्वज यसअघि पनि चोरी तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा संलग्न रहेको अभिलेख छ । उनीहरू काठमाडौँको तिनचुलीस्थित कान्छी तामाङलाई समेत नसालु पदार्थ खुवाई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा फरार रहेका थिए । नवराज घिमिरे बि.क. यसअघि पनि चोरीको सुन बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेको आरोपमा पक्राउ परेका थिए । उक्त कसुरमा उनी दुईवटा मुद्दामा जनही ६० हजार रुपैयाँका दरले जम्मा एक लाख २० हजार रुपैयाँ धरौटी बुझाएर तारिखमा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी संगिताको साथ तथा कोठाबाट प्रहरीले तीन ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको कालो किप्याड मोबाइल एक थान, भिभो मोबाइल एक थान, राडी, कुर्था, सुरुवाल, ज्याकेट र जुत्तालगायतका सामग्री बरामद गरेको छ । त्यस्तै, नवराजको सुनचाँदी पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको अवस्थामा १२.२ लाल, ४२.७ लाल, २६.५ लाल र ११.१ लाल सुनजस्तो देखिने धातु बरामद गरिएको छ । प्रविन सुनुवारको पसलबाट पनि ११.६८ ग्राम तौलको सुनजस्तो देखिने कानमा लगाउने एक जोर रिङ बरामद भएको प्रहरीले जनाएको छ ।
यस प्रकृतिका घटनामा पक्राउ परेका व्यक्तिहरू अन्य स्थानमा भएका लुटपाट तथा चोरीका घटनामा समेत संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनीहरूबाट पीडित भएका तर हालसम्म प्रहरीको सम्पर्कमा नआएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
