ट्रेण्डिङ

जनवरी १ मा टोपी दिवसः नेपाली टोपीको महत्व

जनवरी १ मा टोपी दिवसः नेपाली टोपीको महत्व

नेपाल विविध जातजाति र भेषभूषा भएकाहरूको साझा चौतारी हो । यहाँ बसोबास गर्ने सबै नागरिकका आ–आफ्नै जातीय पहिचान झल्कने पहिरन छन् । अर्को अर्थमा भन्नु पर्दा कुनै व्यक्तिको पहिरनले नै ऊ कुन समुदायको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ । यसर्थ पनि सबैको पहिचान झल्कने पोशाक हुनु जरुरी एकातिर छँदैछ भने अर्कातिर नेपालमा गणतन्त्रको शुरुवातपछिका केही वर्षमै नेपालीको राष्ट्रिय पोशाक हटाइएको छ । बिना कारण कुनै पनि देशको राष्ट्रिय पोशाक हट्नु भनेको त्यो देशको मौलिक संस्कृति हट्नु हो, पहिचान हट्नु हो अनि बहुसंख्यक नेपालीको आत्मसम्मानमा चोट पुग्नु पनि हो । बहुसंख्यक नागरिकको साझा पोशाकको रूपमा वर्षौंदेखि स्थापित भएर बसेको नेपाली पोशाक दौरा, सुरुवाल, ढाकाटोपी र गुन्युचोलीलाई एकाएक हटाएर हाम्रा राजनीतिक दलका नेताहरूले कुन फाइदा लुटे त्यो त उनीहरू नै जानून् तर उनीहरूले राष्ट्रिय पोशाकबिहीन बनाएर हामी नेपालीहरूलाई टुहुरो चाहिँ बनाएरै छोडे ।
त्यसैले जन्म भयो नेपाली टोपी दिवस । अनि त्यसको साइत जुर्यो अंग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी १ । किन जनवरी १ मा नै नेपाली टोपी दिवस त ? किन वैशाख १ गते चाहिँ गरिएन त भनेर पनि प्रश्न उठ्ने गरेको छ । यसको पनि आफ्नै कारण छ । पछिल्ला दिनहरूमा नेपाली युवाहरूले नेपाली चाडपर्वहरूलाई भुसुक्कै बिर्सिएका छन् । उनीहरू पश्चिमी संस्कृतिको अनुशरण गर्दै गर्दा नेपालीपन भुल्न पुगेको यथार्थ छर्लङ्गै छ । हामीहरू अंग्रेजी नयाँ वर्षमा ह्याप्पी न्यू एयर भन्न लजाउँदैनौं, बरु नेपाली नयाँ वर्षको शुभकामना भन्न चाहिँ धक मान्छौँ । त्यसैले पनि हामी आज हरेक कुरामा पछि मात्रै परेका छैनौं, आफ्नै कारणले अरूबाट हेपिएका पनि छौं । यो हेपाइको अन्त्यका लागि र पश्चिमी संस्कृतिको पालना गरिरहेका बहुसंख्यक हाम्रा युवाहरूलाई जनवरी १ मा नेपाली पहिचान झल्कने खालका कार्यक्रमहरू पनि गर्न सकिन्छ है भनेर सन्देश दिने उद्देश्यले हामीले जनवरी १ लाई नै नेपाली टोपी दिवसका रूपमा छनोट गरेका हौँ ।
हुन त यस दिन धेरै संस्था, क्लब र व्यक्तिहरूले आआफ्नै तरिकाले राष्ट्रियता झल्कने खालका कार्यक्रमहरू गर्ने गरेको पाइएको छ । कसैले राष्ट्रिय पोशाक दिवस भनेर पनि मनाइरहेका छन् भने कसैले ढाकाटोपी दिवस अथवा कसैले नेपाली टोपी दिवस भनेर मनाउँदै आएका छन् । जो जुन बाटोबाट हिँडे पनि आखिर गन्तव्य भने एउटै हो । सबैको चाहना सरकारलाई राष्ट्रिय पोशाकसँगै पोशाक दिवस चाहियोे भनेर दवाव दिने नै हो । यसर्थ पनि यसमा धेरैको साथ र सहयोग त छँदैछ । साथै दिनप्रतिदिन राष्ट्रिय भावले ओतप्रोत युवा जमातहरूको संख्या पनि बढिरहेको छ । हामीहरूको संयुक्त दबाबले नै हाम्रा नेताहरूको चेत खुल्ने हामीले आशा गरेका छौं ।
के छ टोपीको महत्व ?
नेपाली टोपीकै कुरा गर्ने हो भने यस अन्तर्गत ढाकाटोपी र भादगाउँले कालोटोपी मात्र पर्छ कि भनेर पनि धेरैमा भ्रम परिरहेको छ । मुख्यतः यी दुई खालका टोपीहरूले नेपाली टोपीको प्रतिनिधित्व गरे पनि यसभित्र अन्य समुदायले लगाउने टोपीहरू पनि पर्छन् भनेर चाहिँ हामीले भुल्नु हुँदैन । विभिन्न नेपाली समुदायले लगाउने टोपी जातीय टोपीहरू हुन् । जे भए पनि ढाकाटोपी र कालोटोपीले भने पूरै नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गरेका छन् । ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेगको प्रतिनिधित्व गरेको छ । बीचको भिरालो भागले पहाड र तलको भागले समथर तराईलाई चिनाएको छ । यसर्थ पनि यी टोपीहरूको महत्व धेरै छ ।
कहिले मनाउन थालियो टोपी दिवस ?
नेपाली टोपी दिवस कहिले मनाउन थालियो भनेर पनि धेरै जनाले सोधेको प्रश्न हो । धेरै जनालाई त थाहा भएकै हुनुपर्छ । नेपाल र नेपाल बाहिर रहेका नेपालीहरूले विगत १३ वर्षदेखि जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आइरहेका छन् । शुरुका २ वर्ष यो दिवस सामाजिक सञ्जालमा मात्र सीमित भयो । तर विगत १३ वर्षदेखि भने यसलाई औपचारिकता दिने गरी सार्वजनिक कार्यक्रम गर्दै धेरै संघसंस्थाहरूले नेपाली टोपी दिवसको विधिवत शुरुवात गरेका छन् ।
यसैक्रममा जागरुक युवा अभियान नेपालले पनि यसलाई निरन्तरता दिन थालेको छ । यस संस्थाले गत ११ वर्षदेखि औपचारिक कार्यक्रम गरी नेपाली टोपी दिवसलाई भव्यरूपले मनाउँदै आइरहेको छ । यस वर्ष पनि उसले जनवरी १ लाई नेपाली टोपी दिवसको रूपमा मनाउँदैछ । यस दिन राजधानी काठमाडौं र बाहिर जिल्लामा बिहान जम्मा भएर प्रभातफेरी कार्यक्रम गर्ने गरिएको छ ।
यति भनिरहँदा पनि हामीले यो बिर्सनु हुँदैन कि हामी अहिले पनि राष्ट्रिय पोशाक बिहीनताकै अवस्थामा छौं । जहाँ जाँदा जति ठूला भाषण गरे पनि हाम्रा नेतृत्वहरूले अहिलेसम्म नेपाली पहिचान झल्किने कुनै पनि पोशाकको आवश्यकता नै देखेका छैनन् । तर पनि कुनै जाति विशेषका चाडपर्वहरूमा जाँदा हाम्रा नेताहरू उनीहरूका टोपी लगाएर राष्ट्रियताको झल्को दिने नाटक भने अहिले पनि गरिरहेका छन् ।
हाम्रो मुख्य उद्देश्य भनेको जसले हाम्रो मौलिक पहिरनलाई पररर ताली ठोकेर संसदबाट हटाए, संविधानबाट हटाए, तिनै नेताहरूले त्यसरी नै ताली ठोकेर हाम्रो पहिचानलाई पहिले जसरी नै संविधानमा अटाउने वातावरण बनाउनु नै हो । यसर्थ पनि हाम्रो यो अभियान चलि नै रहन्छ । तपाईं हामी जुन ठाउँमा छौं, जे गरिरहेका छौं त्यो काम निरन्तर गरेरै पनि सकेसम्म सबै पहिचान झल्किने पोशाक सधैं लगाऔँ, सधैँ सकिँदैन भने एक दिन मात्र भए पनि लगाएर राष्ट्रियतालाई बचाइराखौं भनेर नै हामीले नेपाली टोपी दिवसको थालनी गरेका हौं । तर यस दिनलाई औपचारिकरूपमा नेपाली टोपी वा राष्ट्रिय पोशाक दिवस भनेर अझै पनि हामीले मनाउन पाएका छैनौं ।
जागरुक युवा अभियान नेपालको उद्देश्य नेपाली टोपीलाई बचाउँदै जनवरी १ लाई नै टोपी दिवसको रूपमा सधैं मनाउने वातावरण मिलाउन सकियोस् भन्नु नै हो । यसर्थ यसमा सबैको साथ र सहयोगको उत्तिकै जरुरी छ ।
अब जनवरी १ लाई हामीले टोपी दिवस भन्नै पर्दैन । सबै नागरिकलाई यस दिन टोपी दिवस भनेर थाहा छ । पहिले जसरी प्रचार गरिरहनु पनि पर्दैन, किनकी अब स्वतःस्र्फुतरुपमा यस दिन टोपी वा अन्य राष्ट्रिय पहिचान झल्कने पहिरन लगाएर यो दिवस मनाइन्छ । अरु केही नसके पनि सामाजिक सञ्जालमा टोपी लगाइएका तस्बीर पोष्ट गर्ने होडबाजी नै लाग्छ । यसबाट के बुझ्नु पर्छ भने नेपाली युवा जमातमा राष्ट्रियताको भूत चढिसकेको छ । जसले देशको राष्ट्रियतामाथि धावा बोल्छ, युवाहरु जागरुक भएर उठिहाल्छन् । यस वर्ष पनि हामी जो जहाँ छौं जनवरी १ (पुस १७) मा नेपाली टोपी दिवस मनाउन नभुलौं । जय नेपाली टोपी ।। (लेखक नेपाली टोपी दिवसका अभियान्ता हुनुहुन्छ ।)