ट्रेण्डिङ

पनौती नगरपालिकाको १९औँ नगर सभा सम्पन्न

  • अनलाइन काभ्रे
  • / अर्थ/व्यवसाय /
  • २०८३ अषाढ ९, मंगलबार (४ घण्टा अघि)
  • ७ पटक पढिएको
पनौती नगरपालिकाको १९औँ नगर सभा सम्पन्न

काभ्रे । पनौती नगरपालिकाको १९औँ नगर सभाको पहिलो बैठक नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्पन्न गरेको छ ।
शुक्रबार सम्पन्न नगर सभामा नगरपालिकालाई समृद्ध, स्वच्छ, सुरक्षित तथा आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकतामा राखेको नगर प्रमुख भण्डारीले बताए ।
नगर प्रमुख भण्डारीले नगरभित्रका सडक, खानेपानी, सिंचाइ, कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कृषि क्षेत्रलाई आधुनिकीकरण र उत्पादनमा आधारित अनुदान, कृषक प्रोत्साहन कार्यक्रम, कृषि बजार व्यवस्थापन तथा पशुपालन क्षेत्रको व्यवसायीकरणमा जोड दिइने नीति लिइएको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, युवा स्वरोजगार, महिला सशक्तीकरण, डिजिटल सेवा प्रवाह तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको बताए ।
त्यस्तै पनौतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई संरक्षण गर्दै विकास र समृद्धिलाई थप प्रभावकारी बनाइने बताए ।
नीति कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण कार्यक्रम, डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
यस्तै नगर अस्पतालको सेवा विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने, युवा तथा महिलालाई उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बनाउने, सीपमूलक तालिम सञ्चालन गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र क्षमता विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभामा उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विषयगत शाखा प्रमुखहरु, कर्मचारीहरूको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस