ट्रेण्डिङ

बालविवाह अन्त्य गर्न युवाहरुको सक्रियता आवश्यक छः अध्यक्ष छिन्ताङ

खानीखोलामा बालविवाह न्यूनीकरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ अषाढ १३, शुक्रबार (१ साल अघि)
  • २९२ पटक पढिएको
बालविवाह अन्त्य गर्न युवाहरुको सक्रियता आवश्यक छः अध्यक्ष छिन्ताङ

काभ्रे । खानीखोला गाउँपालिकाको महिला तथा बालबालिका शाखाद्वारा आयोजित पालिकास्तरीय अन्तर–मावि “बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू” शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले बालविवाह समाजमा गम्भीर समस्या भएको भन्दै यसको अन्त्यका लागि युवाहरूकै सक्रियता आवश्यक रहेको बताए । उनले यस्ता चेतनामूलक कार्यक्रमहरू पालिकामा निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त प्रतियोगितामा गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयहरूमध्ये ७ विद्यालयले सहभागिता जनाएका थिए भने विद्यार्थीहरूले बालविवाहका नकारात्मक प्रभाव र न्यूनीकरणका उपायहरूबारे आ–आफ्नो प्रस्तुती दिएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार ५ सय र तृतीय हुनेलाई ४ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको छ । प्रथम हुनेमा जनविकास माविकी नेहा खुलाल, द्वितीय हुनेमा शारदा माविकी सुनिता थोकर र तृतीय हुनेमा जनविकास माविकै युवराज ठकुरीले रहेका छन् । त्यस्तै, कुमारी माविका सुमन सिंतान र भृकुटी माविकी रजनी टुम्सिङ्ग मगरले सान्त्वना पुरस्कार स्वरूप रु. २ हजार नगदसहित सम्मानपत्र प्राप्त गरेका छन् ।
यस्तो कार्यक्रमले बालविवाहसम्बन्धी विद्यार्थीहरूमा चेतना फैलाउनुका साथै युवा पुस्तालाई सकारात्मक रूपमा सशक्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख चक्रबहादुर थापाले गर्नुभएको थियो ।
खानीखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष तथा सामाजिक विकास संयोजक निशान मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, निर्णायक मण्डलका प्रतिनिधि प्रकाश कोइराला, शिक्षा शाखा प्रमुख चक्रबहादुर थापा, महिला तथा बालबालिका शाखा प्रमुख तथा वडा नं. ५ की सचिव चण्डिका थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।