
काभ्रे । व्यापारी नगरको रुपमा चिनिने काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा शैक्षिक परामर्श संघ नेपाल काभ्रे शाखाको आयोजनामा जिल्लामै पहिलोपटक बृहत् बहुउद्देश्यीय शैक्षिक मेला भोलि (शुक्रबार) हुने भएको छ ।
बिहिबार पत्रकार सम्मेलन गर्दै इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझीले बनेपा पार्टी भेन्युमा एक दिवसीय शैक्षिक मेला हुने जानकारी दिएका हुन् । विद्यार्थी, अभिभावक र शैक्षिक सेवा प्रदायकहरूलाई प्रत्यक्ष संवाद र विश्वासनीय जानकारीको पहुँच सुनिश्चितका लागि बृहत् बहुउद्देश्यीय शैक्षिक मेलाको आयोजना गरेको जानकारी दिए । सो मेलामा ११ सय भन्दा बढी विद्यार्थीहरु सामेल हुने रायमाझीको भनाई छ ।
रायमाझीका अनुसार उक्त मेलामा २५ वटा भन्दा बढी स्टल हुने र २० भन्दा बढी शैक्षिक परामर्श संस्थाहरु सहभागी हुने जानकारी दिँदै अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, फिनल्यान्ड, अस्ट्रिया, नेदरल्यान्ड, साइप्रस लगायतका विश्वका विभिन्न मुलुकहरूका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू उपस्थित हुने जानकारी दिए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले मेला सफलताको शुभकामना दिँदै विदेश पठाउने मात्र नभई विद्यार्थी फर्कने प्रतिबद्ध पनि गराउनुपर्ने बताए ।
