ट्रेण्डिङ

काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न

१ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित
  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८३ अषाढ १९, शुक्रबार (१ हप्ता अघि)
  • ८ पटक पढिएको
काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) सम्पन्न

काभ्रे । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न समारोहलाई मन्त्री पोखरेलले अन्य विश्वविद्यालयभन्दा काठमाडौँ विश्वविद्यालयमा आउँदा खुशी भएको अनुभव सुनाए । उनले आफू चार वर्ष पहिले सोही विश्वविद्यालयको विद्यार्थी भएको स्मरण सुनाउँदै अहिले जिम्मेवारी थप भएपछि सम्बोधन गर्न पाउँदा अझ बढी खुशी व्यक्त गरेका छन् । दीक्षित विद्यार्थीको उज्जवल भविष्यको कामना गर्दै मन्त्री पोखरेलले आज चार वर्षपछि जिम्मेवारीको हिसाबमा शिक्षा तथा खेलकुदमन्त्री र सहकुलपतिको रूपमा आउँदा भावनात्मक नाताले केयूको पूर्वविद्यार्थीको रुपमा उभिन पाउँदा गर्व लागेको बताए ।
भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्ष्टिच्युटका कुलपति एवं प्रमखु अतिथि प्रा. डा. भूपेन्द्र पाटवर्धनले काठमाडौं विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालयका तुलनामा फरक शैक्षिक गन्तव्य भएको उल्लेख गरेका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले कार्यक्रम सञ्चालन गरेको दीक्षान्त समारोहमा १ हजार ५ सय २७ जना विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये विद्यालय अफ आट्र्सका १ सय ६१, स्कुल अफ एजुकेसनका १ सय १२, स्कुल अफ इन्जिनियरिङका ३ सय ५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १ सय ४६, स्कुल अफ मेडिकल साइन्सेजका ५ सय ४ तथा स्कुल अफ साइन्सका ३ सय ७ जना रहेका छन् ।
त्यस्तै विद्यावारिधि (PhD/DM/MCh) तहका २१, MPhil/Master by Research का ९३, स्नातकोत्तर तहका २ सय ७९, PGDE तहका २ जना तथा स्नातक तहका १ हजार १ सय ३२ जना रहेका छन् ।
दीक्षित हुने विद्यार्थीमध्ये ८ सय जना (५२.३९ प्रतिशत) पुरुष र ७ सय २७ जना (४७.६१ प्रतिशत) महिला रहेका छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १ सय ७९ जना विदेशी विद्यार्थी दीक्षित भएका छन्, जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो ।
यस वर्ष काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलो पटक Bachelor of Technology in Artificial Intelligence कार्यक्रमका २६ जना, Doctor Medicinal in Neonatology अन्तर्गत ३ जना तथा Master of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ । दोस्रो चरणको दीक्षान्तपछि काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१ हजार ५ सय ६७ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन् ।
उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिएको थियो । उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी CGPA ३.९९ प्राप्त गरी Bachelor of Engineering in Computer Engineering उत्तीर्ण गरेकी रिश्ता श्रेष्ठ र महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी CGPA ३.९७ प्राप्त गरी Master of Education in Leadership and Management उत्तीर्ण गरेकी अन्जु कुमारीलाई प्रदान गरिएको थियो ।